काठमाडौं– एमाले उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपालको रिस नमरेसम्म पार्टी एकता हुन नसक्ने बताएका छन्। गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक–आपसमा रिसाएको अवस्था रहेको भन्दै रिस शान्त नभएसम्म एकता जटिल रहेको बताएका हुन्।
उनले संसद् भवनमा आइतबार पत्रकारसँग भने, ‘माधव कमरेड केपीजीसँग धेरै रिसाउनुभएको छ, ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ। म यी दुवैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ। हो, त्यतातिर लागिरहेको छु।’ गौतमले यी दुईटाको रिस नमर्दासम्म मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम नगर्ने पनि बताए। गौतमले पार्टी एकता जोगाउन आफू ओलीतिर लागेको पनि बताए।
उनले भने, ‘एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु। मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखें। बैठकले नै मलाई एकताको प्रयत्न गर्न जिम्मेवारी दिएको छ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिएपछि पार्टी एकतामा सहजता हुने गौतमको दाबी छ।