काठमाडौं- नेपाल खुला विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूले स्थायी पदपूर्तिका लागि खोलिएको विज्ञापन स्थगन गरेकोप्रति आपत्ति जनाएका छन्।
विश्वविद्यालय सिनेट सभाको २०७७ भदौ ९ गते को निर्णयका आधारमा विश्वविद्यालय कार्यकारी परिषदले २०७८ बैशाख २४ मा गरेको निर्णयबमोजिम विश्वविद्यालय सेवा आयोगद्वारा असार १५ मा शिक्षक तथा कर्मचारीहरूको स्थायी पदपूर्तिका निम्ति गोरखापत्र दैनिकमा खुला तथा आन्तरिक प्रतिष्पर्धामार्फत नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो।
विश्वविद्यालय सिनेट सभाको निर्णय विपरीत निमित्त उपकुलपति प्रा. डा. इन्द्रबहादुर कार्कीद्वारा उक्त विज्ञापन स्थगन गर्न ठाडो आदेश जारी भएको भन्दै शिक्षक तथा कर्मचारीले आपत्ति जनाएका हुन्।
विश्वविद्यालयको स्थापनाकालदेखि आजसम्म चार वर्षको अवधिमा एक जना पनि शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति नभएको अवस्थामा विज्ञापन रोकिनु आपत्तिको विषय भएको उनीहरूको आरोप छ। हाल सिर्जित समस्याको समधानका लागि निमित्त उपकुलपतिसँग तीन पटकसम्म संवाद गर्दा पनि उपयुक्त निष्कर्ष निस्किन नसकेको उनीहरूको गुनासो छ।
शिक्षक तथा कर्मचारीले वर्तमान नेतृत्वको गैरजिम्मेवारीपनका कारण आफूहरू आन्दोलित हुन बाध्य भएको बताएका छन्। उनीहरूले विश्वविद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा प्राविधिक कार्यहरू असार २५ सम्मलाई स्थगित गरेर आन्दोलित बनेको जनाएका छन्।
प्रेस विज्ञप्ति
विगत चार वर्षदेखि सञ्चालनमा आएको नेपाल खुला विश्वविद्यालयका जिम्मेवार तहमा रहेका केही पदाधिकारीहरूको गैरजिम्मेवार र विश्वविद्यालय प्रतिकूल व्यवहार तथा अभ्यासद्वारा सिर्जित विभिन्न शैक्षिक तथा प्रशासनिक समस्याहरूका बाबजुद छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ। हाल विश्वविद्यालयमा कार्यरत हामी शिक्षक तथा कर्मचारीहरू तात्कालीन पदपूर्ति समिति (हाल विश्वविद्यालय सेवा आयोग) ले खुला प्रतिष्पर्धामार्फत स्थायी नियुक्तिका सबै प्रकृया र मापदण्ड पूरा गरी सिफारिस भएर करार सेवामा कार्यरत रहेको जानकारी गराउदछौं।
विश्वविद्यालयको स्थापनाकालदेखि आजको मितिसम्म चार वर्षको अवधिमा एक जना पनि शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति नभएको अवस्थामा विश्वविद्यालय सिनेट सभाको मिति २०७७/०५/०९ को निर्णयका आधारमा विश्वविद्यालय कार्यकारी परिषदले मिति २०७८/०१/२४ मा गरेको निर्णयबमोजिम विश्वविद्यालय सेवा आयोगद्वारा २०७८/०३/१५ मा शिक्षक तथा कर्मचारीहरूको स्थायी पदपूर्तिका निम्ति गोरखापत्र दैनिकमा खुला तथा आन्तरिक प्रतिष्पर्धामार्फत नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो। उक्त विज्ञापनलाई रोक्ने मनसायले विश्वविद्यालयको वेवसाईटमा सूचना प्रकाशन गर्ने पूर्ववत् अभ्यासलाई निमित्तलाई नभएको अधिकार प्रयोग गरेर निमित्त उपकुलपति प्रा. डा. इन्द्रबहादुर कार्कीद्वारा अधिकार आफूमा केन्द्रित गर्ने निर्णय गरियो । साथै निमित्त उपकुलपतिकै तत्परतामा कुलपतिद्वारा उक्त विज्ञापन स्थगन गर्न ठाडो आदेश जारी गरियो।
हाललाई विज्ञापन रोक्ने घटना पनि विगतका स्थायी शिक्षक तथा कर्मचारी नियुक्ति गर्न नचाहने नियतको निरन्तरता हो। विश्वविद्यालय सिनेट सभाको निर्णय विपरीत कुलपतिको उक्त कार्य नेपाल खुला विश्वविद्यालय ऐन विपरीत हुनुका साथै विश्वविद्यालय स्वयत्ततासम्बन्धी मान्यता र परम्पराको ठाडो उल्लङ्घन हो।
हाल सिर्जित समस्याको समधानका निमित्त उपकुलपतिसँग तीन पटकसम्म संवाद गर्दा पनि उपयुक्त निष्कर्ष निस्कन सकेन। विश्वविद्यालयको विकासलाई अवरुद्ध गर्ने वर्तमान नेतृत्वको गैरजिम्मेवारीपनका कारण हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू खेद प्रकट गर्दै आन्दोलनमा उत्रन बाध्य भएका छौँ र तत्काललाई विश्वविद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा प्राविधिक कार्यहरू यो हप्ताभरि (२०७८/०३/२५ सम्म) लाई स्थगित गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू निर्णय गर्न बाध्य बनेका छौं।
कोभिड महामारीको समयमा पनि निरन्तर रूपमा कक्षा सञ्चालन, नियमित परीक्षा र प्रवेश परीक्षा सञ्चालन, शोधप्रबन्ध प्रतिरक्षा, कार्यक्रम अभिमूखीकरण एवं अन्य प्रशासनिक र प्राज्ञिक गतिविधि हामी शिक्षक तथा कर्मचारीले सञ्चालन गरेको सर्वविदितै छ।
यसर्थ सम्पूर्ण सरोकारवाला पक्षहरूसमक्ष नेपाल खुला विश्वविद्यालयको जीवन र गरिमा बचाउने उद्देश्यका साथ गरिएको यस आन्दोलनमा ऐक्यबद्धता जनाउन र समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
२०७८/०३/२०
सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू
नेपाल खुला विश्वविद्यालय