बुटवल- बुटवलको पर्यटकीय क्षेत्र हिलपार्कमा गौतम बुद्धको ठूलो मूर्ति स्थापना गरिने भएको छ।
बुटवलको हिल स्टेशनका रुपमा हिलपार्कलाई विस्तार गर्दै बुटवल उपमहानगरले ठूलो बुद्धको पार्क ‘बिगबुद्ध’ पार्क बनाउने काम सुरु गरिने भएको हो। बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निमार्ण गरिने उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए।
उपमहानगरले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्नेगरी अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको छ। कोभिड महामारीका कारण ढिला गरेर हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको काम अगाडि बढेको प्रमुख सुवेदीले बताए।
बुटवलले बनाएको पाँच वर्षे आवधिक योजनामा हिलपार्कमा बुद्ध प्रतिमा ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो। योजनाअनुसार ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो। यो स्वीकृत भइसकेको छ। आयोजना स्थलमा माटो परीक्षण, सर्भे र डीपीआरका काम पूरा भइसकेका छन्। अहिले ईआईएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ।
कन्सल्टेन्सीका अनुसार बौद्ध दर्शनका विज्ञ डा.विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका प्रतिमा र अन्य विभूतिहरुकासमेत मूर्ति बनाएर ख्याती कमाएका मूर्तिकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यताअनुसारको प्रतिमा निर्माण गर्न डीपीआर बनाइएको हो। ईआईएका लागि उपमहानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौंलाई जिम्मेवारी दिएको छ।
बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरुप हिलपार्कमा बिगबुद्धपार्क बनाउन लागिएको उपमहानगरले जनाएको छ। उपमहानगरले बुटवलको सडकका डिभाइडरहरुमा सुरक्षा प्रवन्धसहित ससाना बुद्ध प्रतिमा राख्ने तयारी गरेको छ।
बुद्ध र लुम्बिनी पर्यटकीय हिसाबले ‘क्यास’ गर्न सकिने, पर्यटन उद्योगको केन्द्र र ऐतिहासिक पूँजी भएको र बुटवलको ऐतिहासिकता लुम्बिनीसँग सिधा जोडिएकाले बुद्ध मूर्ति बनाउने योजना प्रस्ताव गरिएको नगरप्रमुख सुवेदी बताउँछन्।