काठमाडौं। फागुन २१ देखि आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बजेटको खाका कोर्न मन्त्रालयगत छलफल सुरु गरेको अर्थ मन्त्रालय आजदेखि ढोका बन्द गरेरै बजेट छलफलमा जुट्ने भएको छ।
संघीय मन्त्रालय र अन्तर्गतका विभाग तथा निकायसँग बजेट परामर्श सकाएपछि अर्थ मन्त्रालयमा आजदेखि विधिवत् बजेट छलफलमा जुट्न लागेको हो।
बजेट गोपनीयतालाई दृष्टिगत गरेर मन्त्रालय प्रवेशमा कडाइ, कर्मचारीको परिचय अनिवार्य र बजेट निर्माणका महाशाखा÷शाखाका ढोकामा चुकुल लगाएरै मन्त्रालयले बजेट छलफल गर्न लागेको हो।
चैत १५ सम्म मन्त्रालयगत बजेट सूचना प्रविष्ट प्रणाली (एलएमबिआइएस) मा बजेट प्रस्ताव गर्ने काम सम्पन्न भइसकेको छ। केही दिनअघि अर्थको प्रशासन महाशाखाले मन्त्रालयभित्र प्रवेशमा कडाइ गर्न सर्कुलर जारी गरिसकेको छ। अर्थका कर्मचारीले पनि आफ्नो परिचयपत्र देखाएर मात्रै मन्त्रालय प्रवेश पाउनेछन्।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने र त्यसअघि संसदमा छलफल चलाउनुपर्ने समायावधि नजिकिएसँगै नयाँ बजेटका लागि अर्थले गृहकार्य तीव्र पारेको हो। अर्थ मन्त्रालयका अधिकारीका अनुसार अहिले मन्त्रालयगत छलफललाई अन्तिम चरणमा पुर्याएको छ।
हालसम्म गृह, भौतिक पूर्वाधार, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य, खानेपानी तथा सरसफाइ, संघीय मामिलाका विभागीय मन्त्री, मातहत निकायका अधिकारीसँग आगामी बजेटबारे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित बजेट लेखन समितिले छलफल सकिसकेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अध्यादेशमार्फत संशोधन भएर आएअनुसार बजेटको कार्यतालिकामा समेत संशोधन भएको अर्थका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
‘अर्थ मन्त्रालयले चैत १५ भित्रै सिलिङ र बजेट तर्जुमासम्बन्धी ८ बुँदे मार्गदर्शन सबै मन्त्रालयलाई पठाइसकेको छ। फागुन २१ देखि अर्थमन्त्रीज्यूले विभिन्न मन्त्रालय पुगेर बजेट छलफल गर्नुभएको छ,’ प्रवक्ता भण्डारीले भने।
अर्थमन्त्रीको सचिवालयका अनुसार मन्त्रालयगत छलफलमा पौडेलले मन्त्रालयहरुलाई प्राप्त बजेट सीमाभित्र रहेर कार्यान्वयनका क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्नु नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्न, स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नलगायतका सुझाव दिएका छन्।
बजेट निर्माणको काम अघि बढाउन फागुनमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति गठन भएको थियो।
वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्यालसहितको समितिले आगामी बजेट लेखन गृहकार्य बढाएको छ।
मन्त्रालयले सोमबार मात्रै आगामी जेठ १५ मा सार्वजनिक गरिने आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि सुझाव मागेको छ।
मन्त्रालयले नयाँ बजेटमा समावेश गर्न उपयुक्त विषयबारे सुझाव दिन विभिन्न संघसंस्था, विज्ञ, व्यवसायी, पेसाकर्मी, कर्मचारी तथा सर्वसाधारणसमक्ष सूचनामार्फत आग्रह गरेको हो।