काठमाडौं– काठमाडौं महानगरभित्र निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या बढेको छ। कारोना महामारीका कारण अभिभावकको आयस्रोत घटेको छ। जसले गर्दा निजी विद्यालयको शुल्क तिर्न नसकेर अभिभावकले छोराछोरीलाई निजीबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरिरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू बताउँछन्।
कलंकीस्थित ज्ञानोदय माविमा कक्षा ५ मा कक्षा ५ मा भर्ना हुन आउने विद्यार्थीको संख्या उच्च भएपछि भर्ना नपाएर विद्यार्थी फर्किएका छन्। कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा विद्यार्थीको चाप छ। ज्ञानोदयमा माथिल्लो कक्षामा बढी विद्यार्थीको चाप हुने गरेकाले विद्यालयले प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन बताउँछन्। उसो त ज्ञानोदयमा सधैं विद्यार्थीको चाप हुने गरेको छ।
निजी विद्यालय सञ्चालकका सञ्चालक संस्थागत विद्यालयबाट निकालेर अभिभावकले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरिरहेको स्वीकार गर्छन्। विद्यार्थी संख्या बढ्दै गएपछि सामुदायिक विद्यालय पनि हौसिएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले पछिल्लो समय कोरोनाको कारण निजी विद्यालयमा विद्यार्थी संख्या घटिरहेको बताए। उनले भने, ‘सहरमा पेसा, व्यवसाय बन्द भएपछि गाउँ फर्कने क्रम बढ्दो छ। यसले पनि काठमाडौंलगायत सहरी क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या घटेको हो। सहरबाट गाउँमा फर्केका अभिभावकले गाउँमा पनि गएर विद्यार्थीलाई सामुदायिक स्कुलमा भर्ना गर्ने गरेका छन्।’
सहरी क्षेत्रमा दैनिक ज्यालादारी, फुटपाथ र सामान्य पेसाव्यवसाय भएकाहरू विस्थापित हुनुपरेको उनले बताए। कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यार्थीले काठमाडौं छोड्ने क्रम झनै बढेको उनको भनाइ छ।
काठमाडौंका केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममै पठनपाठन हुन्छ। उनीहरूले अनलाइनबाटै क्लास सञ्चालन गर्दै आइरहेका छन्। सामुदायिक विद्यालयले भने कारोना महामारीले मात्रै नभएर आफूहरूले भौतिक, शैक्षिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको दाबी गरेका छन्।
काठमाडौं महानगरभित्र ६ सय ४० निजी विद्यालय र ९१ वटा सामुदायिक विद्यालय छन्। काठमाडौं महानगरले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका ३२ वटा विद्यालयलाई नुमना विद्यालयका रूपमा छनोट गरेको छ। महानगरले आव २०७८÷७९ को नीति तथा कार्यक्रममा उल्लेख गरेको एक वडा एक नमुना विद्यालय कार्यक्रमअन्तर्गत ३२ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा छनोट गरेको हो।
आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेका अभिभावकको पनि कोरोना महामारीका कारण आयस्रोत घटेको र सामुदायिक शिक्षा विकासमा सरकारले ल्याएको योजनाको प्रभावका कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेको काठमाडौैं महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।
उनले भने, ‘गत वर्ष भन्दा अहिले सामुदायिक विद्यालयको उपल्लो कक्षामा विद्यार्थीको संख्या करिब दस प्रतिशतले बढेको छ। विद्यार्थी संख्या बढ्नुको प्रमुख कारण सरकारले ल्याएका कार्यक्रम, भौतिक शैक्षिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धि हुन्।’
सरकारले बजेटमा शिक्षालाई प्राथमिकतामा राखेर एक खर्ब ८० अर्ब चार करोड रुपैयाँ विनियोजन गरेको छ।
सहर पसेर सानोतिनो व्यवसाय गरेर छोराछोरीलाई निजी विद्यालयमा पढाएका अभिभावक कोरोना महामारीका कारण आम्दानीको स्रोत नभएपछि सहरबाट गाउँ फर्किएका छन्। सहरमा भएकाले पनि निजीबाट हटाएर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेका छन्। मानिस छोरोछोरी पढाउनै भनेर एक छाक खाएर भए पनि सहरमा पढाउनकै लागि बसेका छन्।
शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला भन्छन्, ‘अब सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिने हो भने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्छ। त्यसैले सरकारले समयमै यसतर्फ ध्यान दिनुपर्छ।’
उनले सहरमा मात्रै नभएर गाउँमा पनि सामुायिक विद्यालयको गुणस्तरमा ध्यान दिए विद्यार्थीको संख्या बढ्ने बताए। शिक्षा सुधार गर्न प्रविधिको प्रयोगसँगै शिक्षकले विद्यालयमा राजनीति गर्न छोडेर पढाइमा ध्यान केन्द्रित गर्ने र स्थानीय स्तरमा विद्यालय–विद्यालयबीच पढाइको गुणस्तरबारे प्रतिस्पर्धा गराउन सके सामुदायिक विद्यालयको स्तर बढ्ने उनको भनाइ छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विगत दुई वर्षमा दुई लाखभन्दा बढी विद्यार्थी निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना भएको बताउँछन्। उनले भने, ‘पछिल्लो समय सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढ्नुको प्रमुख कारण सरकारले सामुदायिक शिक्षालयलाई दिएको महत्त्व हो।’
सरकारले आगामी शैक्षिक सत्रमा आधारभूत तहमा विद्यार्थी भर्नादर शतप्रतिशत पुर्याउने, अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गरिने घोषणा गरेको छ। सार्वजनिक विद्यालयमा कक्षा नौसम्मका विद्यार्थीलाई शैक्षिक सत्र सुरु हुनुअघि नै रंगीन पुस्तक उपलब्ध गराउने, कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याइने, एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने जस्ता कार्यक्रमले गर्दा विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा बढेको सरकारको दाबी छ।
निजी विद्यालयमा विद्यार्थीको संख्या उच्च रहेको काठमाडौंमा केही सामुदायिक विद्यालयले निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल भएको र शैक्षिक गुणस्तरमा जोड दिएकाले अभिभावकले आफ्ना सन्तानलाई निजीबाट निकालेर यस्ता सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेका छन्।
काठमाडौं महानगरभित्रका रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय मावि कलंकी, नीलवाराही मावि कालीमाटी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, गीतामाता मावि डल्लु, विजय स्मारक मावि डिल्लीबजार, पद्मोदय मावि पुतलीसडक, शिवपुरी मावि बालुवाटार, कोटेश्वर सरस्वति मावि कोटेश्वर लगायतका विद्यालयमा कक्षा ५ देखि माथिल्लो कक्षामा भर्ना हुन आउने विद्यार्थीको संख्या उच्च छ। यी विद्यालयले यसपटक विद्यार्थी छनोट नै गरेर विद्यालयमा भर्ना गरेका छन्।
कलंकीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले भने, ‘कक्षा ५ देखिमाथि निजी विद्यालयबाट विद्यार्थी भर्न हुन आउँछन्। विद्यालयमा गत वर्ष ३ हजार ४ सय विद्यार्थी भएकोमा यस वर्षदेखि कक्षा ११ का पनि विद्यार्थी भर्न गरिएकाले चार हजार विद्यार्थी पुग्ने भएको छ। हामीले हाम्रो क्षमताअनुसार मात्र विद्यार्थी भर्ना गर्ने भएकाले धेरै विद्यार्थी यहाँ भर्ना नपाएर पुनः निजीमा नै फर्किनुपरेको अवस्था छ।’
ज्ञानोदयजस्तै अंग्रेजी माध्यममा पढाइ हुने रत्नराज्य मावि मध्यबानेश्वरले पनि प्रवेश परीक्षा सञ्चालन गरेर उत्तीर्ण हुने विद्यार्थीलाई मात्र भर्ना लिने गरेको छ। रत्नराज्यले अतिरिक्त कक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना गरेको छ। त्यहाँ सबैभन्दा बढी निजी विद्यालयबाट विद्यार्थी भर्ना हन आउँछन्।
कालीमाटीस्थित नीलबराही माविले अनलाइनबाटै प्रवेश परीक्षा लिएको थियो। विद्यालयकी प्रधानाध्यापक जानुका नेपाल आफूहरूले नयाँ शैक्षिक सत्रमा विद्यालय भर्ना अभियान पनि सञ्चालन गर्दै आएको बताउँछिन्। ‘हामीले भर्ना अभियान सञ्चालन गरेर विद्यार्थी खोज्नु पर्दैन’, उनले भनिन्, ‘उल्टै हामीले अन्य विद्यालयका लागि भर्ना अभियान सञ्चालन गरेर सरकारलाई सहयोग गर्दै आएका छौं।’
ज्ञानोदय स्कुलका पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा अभिभावकसँग बालबालिकाको पढाइबारे छलफल गर्ने र सुझावका आधारमा प्रधानाध्यापक र शिक्षकले मिहेनत गरे सामुदायिक विद्यालयको गुणस्तर बढ्ने बताउँछन्। उनी भन्छन्, ‘अभिभावकको चासो र विद्यालयका शिक्षकको मिहिनेतले नै सामुदायिक विद्यालयमा विद्यार्थीको गुणस्तर विकास हुँदै जान्छ।’