काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ। क्रियाशील सदस्यताबारे देखिएका विवाद निराकरण गरी प्रतिवेदन बुझाउन गठित समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउनका लागि सभापति शेरबहादुर देउवाको समय माग गरिएको जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको र बाँकी काम पनि तत्कालै सकिने भन्दै प्रतिवेदन बुझाउन सभापति देउवाको समय माग गरिएको हो। उनले पर्सिसम्ममा प्रतिवेदन बुझाउन सकिने बताए।
'७५ जिल्लाको क्रियाशील सदस्यता छानबिन सकिएको छ। सप्तरी र बारामा पार्टीको आन्तरिक समायोजनको विवाद भएकाले केही काम रोकिएर प्रक्रिया ढिलो भएको हो। तर ती जिल्लाबाट पनि कागजात प्राप्त भएका छन्। अब ती जिल्लाको पनि क्रियाशील सदस्यताको विषयलाई थप गरी एक दुई दिनभित्र प्रतिवेदन तयार गर्छौँ,' लेखकले भने, 'उक्त प्रतिवेदन सभापतिलाई बुझाउन समय माग गरिएको छ।'
बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको तर सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा चर्चा नभएको उनको भनाइ छ।