काठमाडौं- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच सोमबार साँझ कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ। अध्यक्ष बिजुक्छेले आफ्नो क्षेत्रको विकासका लागि प्रदेश सरकारले स्पष्ट योजनासहित अघि बढ्न सुझाव दिएका थिए। उनले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेमकिपाले निरन्तर जोड दिँदै आएको बताउँदै स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्नेमा जोड दिए।
भेटमा स्थानीय तहको स्वायत्तताबारे छलफल भबताइएको छ। 'प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन, आफ्नै भरमा विकास गर्नुपर्छ,' बिजुक्छेलाई उद्धृत गर्दै उनीनिकट स्रोतले बताएको छ। अध्यक्ष बिजुक्छेले वाम पक्षधर निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक काम हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार रोक्न सके धेरै काम हुने बताएका थिए।
भेटमा मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको उल्लेख गरे। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा प्रदेश सरकारको ध्यान नपुगेको स्वीकार गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनीहरुबीच देशको परिवर्तित राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको बताइएको छ। भेटवार्तामा बागमती प्रदेशमा नेमकिपाबाट निर्वाचित सदस्य सुरेन्द्रराज गोसाइँ र सृजना सैँजु तथा नेकपा एमालेका प्रदेशसभा सदस्य दीपक निरौला, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको पनि सहभागी थिए।
मुख्यमन्त्री पौडेलले बिजुक्छेंसँग भेटवार्ता गर्नुअघि भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक सङ्घसंस्था, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड वार्डको अवलोकन गरेका थिए। यसैगरी मुख्यमन्त्री पौडेलले भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिसँग पनि छलफल गरेका थिए।