काठमाडौं– नेपाली कांग्रेसको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नबस्ने भएको छ। बालुवाटारमा बैठक राख्दा पार्टीभित्र र बाहिर आलोचना भएपछि कांग्रेसको शुक्रबार डाकिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको हो।
पार्टी मुख्यालय सानेपामा क्रियाशील सदस्यता छानबिन लगायत विभिन्न माग राखी नेताकार्यकर्ता धर्नामा बसेपछि बैठक बूढानीलकण्ठमा बस्न लागेको देउवाको सचिवालयले जनाएको छ। बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यतामा देखिएको विवाद र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने बताइएको छ।