काठमाडौं- साताको पहिलो दिन नेप्सेले ऐतिहासिक उचाइ बनाएको छ। आइतबार ५४.३१ अंक बढेर नेप्से ३०५८.६३ बिन्दुमा पुगेको हो। यो हालसम्मकै उच्च बन्द बिन्दु हो।
यसअघि नेप्सेले जेठ ३१ गते सर्वाधिक बढी उचाइमा पुगेको थियो। जेठ ३१ गते ३०२५.८३ बिन्दुमा पुगेको थियो। जेठ ३१ को रेकर्डलाई पनि तोड्दै ३०५८ बिन्दुमा पुगेको हो।
आइतबारे नेप्सेको कारोबार रकमले पनि साथ दिएको छ। २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब २३ करोड २३ लाख ६५ हजारको कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको छ।
आइतबार ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन ऊर्जा, सर्पोट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, कालिका पावर, पञ्चकन्या माइ हाइड्रोपावर, यूनिभर्सल पावर, जोशी हाइड्रो, विशाल बजार कम्पनी र ङादी ग्रुप पावरको सेयर १० प्रतिशत बढेको हो।