काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बोलाएका छन्।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्नेछ।
दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुनेछ।
संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ।
बुधबारको मन्त्रिपरिषद् बैठक र सत्ता गठबन्धन दलको बालुवाटार बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरिसकेको छ।
राजनीतिक दलबीच अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ।
यस्तै, नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ।
सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आसन ग्रहण गरिसक्न र निर्धारित पोसाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन्।
बैठकमा सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई निम्तो गरिएको छ।
संसद् सचिवालयले वैशाख २२ देखि २८ सम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ।
वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ। प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ।
आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेललले जेठ १५ मा प्रस्तुत गर्नेछन्।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६ अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ।