काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नीति तथा कार्यक्रमका बुँदा राम्रो भए पनि आर्थिक स्रोतले धान्न नसक्ने बताएका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। सोही नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै पूर्वअर्थमन्त्री शर्माले देशको आर्थिक स्रोतले धान्न नसक्ने बताएका हुन्।
‘नीति तथा कार्यक्रम सुन्दा राम्रो लाग्न सक्छ, त्यसमा त्यहीअनुसारको बजेट बिनियोजन हुन सक्नु पर्यो, त्योभन्दा महत्वपूर्ण भनेको राम्रो भएर मात्रै भएन कार्यन्वयन परिणाममा देखिनु पर्यो,’ उनले भने, ‘हरेक वर्षको समस्या भनेको, राम्रा कुरा आउने कार्यन्वयनमा नआउने र परिणाममा नदेखिने हुन्।’
सांसद शर्माले हरेक वर्षजस्तो यो वर्ष केही बुँदाहरू यताउता गरे पनि फरक केही नभएको बताए। यस्तै, उनले बजेटले पूर्ण रुपमा समेटेर कार्यन्वयनको संरचनासहित गएर अर्थतन्त्रमा सुधार ल्याउने खर्च घटाउने कुरा बजेटले दृढतापूर्वक आत्मासाथ गरे केही प्रगति हुने बताए।
यस क्रममा उनले देशको राजश्वले ऋण तिर्न र चालु खर्चलाई धान्न नसक्ने अवस्था रहेको उल्लेख गरे। ‘हाम्रो राजश्वले ऋण तिर्न र चालु खर्चलाई पनि धान्ने अवस्था छैन, हामीले खर्च घटाए मात्रै नीति तथा कार्यक्रमलाई केही सम्बोधन गर्न सक्ला, तर अहिलेको चालु खर्चलाई यथावत राखेर बजेटले सम्बोधन हुने अवस्था देखिदैन,’ उनले थपे।