काठमाडौं। ग्रीन इनर्जी अन्ट्रप्रेनर नेपालले झन्डै दुई वर्षदेखि ऊर्जा तथा जलविद्युत् कम्पनीको अर्को रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन (आईपीओ) तथा हकप्रद सेयर निष्कासन रोकिनु उचित नभएको बताएको छ।
कम्पनीले आज विज्ञप्ति जारी गर्दै आईपीओ विषयले आयोजना प्रवद्र्धक सर्वसाधारण तथा सरोकारवाला निकायसँगै यस क्षेत्रमा नयाँ लगानीका लागि पर्खिरहेका लगानीकर्तालाई समेत चिन्तित तुल्याएको जानकारी दिएको हो।
पछिल्लो समय यी विषय विभिन्न सञ्चार माध्यम तथा यस क्षेत्रका लगानीकर्ता तथा विज्ञले निरन्तर उठाउँदै आउनुमा मुख्यतः सम्बन्धित संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन)मा समयमै नेतृत्व चयन हुन नसक्नुले सबैभन्दा बढी भूमिका खेलेको कम्पनीको ठहर छ।
संसद्को सार्वजनिक लेखा समितिले गरेको निर्णय वा निर्देशनले पनि धेरै हदसम्म असर पारेको र समितिले बिनाअध्ययन तोकेको मापदण्ड साविकका ऐन, नियम र निर्देशिकाभन्दा बाहिर रहेकोले सेबोनका कर्मचारीलाई काम गर्न अप्ठयारो परेको कम्पनीको भनाइ छ।
‘सेबोनमा समयमै नेतृत्व चयन हुन नसक्नु तथा ऐन, नियम र निर्देशिका भन्दा बाहिर गएर विषयवस्तुको व्याख्या विश्लेषण हुनुले ऊर्जा तथा जलविद्युत् प्रवद्र्धक नियामकीय निकायको चेपुवामा परेका छन्। सोही कारण यो क्षेत्र नै अप्ठ्यारो परिस्थितिबाट गुजिरहेको छ’, कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
सेबोनका पछिल्ला कामकारबाही पनि पारदर्शी र उत्तरदायी नभएको र विगत केही दिनयता छापामा ऊर्जा प्रवद्र्धकहरूले बिचौलियाको हवाला दिँदै नियामकीय निकायले काम गर्न कमिसन मागेको विषयमा ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ।
नियामकीय निकाय र प्रवद्र्धकबीच यस्तो खाले विषयमा द्वन्द्व हुनु दुर्भाग्यपूर्ण रहेको ठहर कम्पनीको छ। नियामकीय निकायले बिचौलियलाई प्रश्रय दिनु उपयुक्त नहुने र सेवाग्राहीलाई समयमै सेवा दिएर द्वन्द्व निरुपण गर्नु नियामकीय निकायको कर्तव्य हुनुपर्नेतर्फ कम्पनीले सचेत गराएको छ।
सेबोनले गरेका काम कारवाहीहरू पारदर्शी, नतिजामुखी र पुँजीबजार उत्थानका लागि हुनुपर्ने र बिनाप्रमाणका गतिविधिको पछाडि नलागी विद्यमान ऐन नियमले तोकेका आफ्ना जिम्मेवारीमै केन्द्रित हुनुमै समग्र पुँजी बजारको भलाइ हुने कम्पनीको धारणा छ। जलविद्युत् प्रवद्र्धक र सेबोन मिलेर बिचौलियाका गतिविधि निरुत्साहित गर्न पनि कम्पनीले आग्रह गरेको छ।