काठमाडौं– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज चार खेल हुँदैछन्। त्यसमध्ये दुई खेल पुरुषतर्फका हुनेछन् भने बाँकी दुई खेल महिलातर्फका हुनेछन्।
त्रिपुरेश्वारस्थित राखेपको कभर्डहलमा हुने ती चारै खेल पुरुष र महिलातर्फका सेमिफाइनल खेल हुन्।
आजको पहिलो दुई खेल महिलातर्फको हुनेछ। बिहान १० बजे सुरु हुने सो खेलमा विभागीय टिम एपीएफले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
महिलातर्फको दोस्रो सेमिफाइनल खेलमा न्यु डाइमन्ड क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। यो खेल दिउँसो १२ बजे हुनेछ।
पुरुषतर्फको पहिलो सेमिफाइनल दिउँसो साढे दुई बजेबाट सुरु हुनेछ भने दोस्रो खेल साढे ४ बजे सुरु हुनेछ।
पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी र एपीएफ भिड्नेछन्।
यो च्याम्पियनसिपको विजेताले चार लाख पुरस्कार पाउनेछ भने उपविजेताले दुई लाख पुरस्कार पाउनेछ। त्यस्तै, तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छ। उपाधिका लागि र तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ।