कैलाली। मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८१’ बाट चार करोड ७४ लाख ३० हजार संकलन गरेको छ।
आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम संकलन गरेको हो।
आश्रमले आज धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो। महायज्ञमा नगद, क्युआर तथा अनलाइन माध्यम र चेकबाट गरी ८१ लाख ८१ हजार संकलन भएको र बाँकी रकमको प्रतिबद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार सरकारी निकायबाट २७ लाख ८१ हजार, संस्थागत दुई करोड ४९ लाख र व्यक्तिगत एक करोड १३ लाख प्रतिबद्धता रकम भएको छ। प्रतिबद्धता गरिएको रकममध्ये हालसम्म १४ लाख ८२ हजार ४६ प्राप्त भएको उनले जानकारी दिए।
त्यस्तै, महायज्ञमा एक लाख ४४ हजार दान पेटिकामा दान प्राप्त भएको, ८३ हजार गोप्यदान र १३ हजार बराबरको जिन्सी दान प्राप्त भएको उहाँले जानकारी दिए।
महायज्ञ सम्पन्न गर्न ४९ लाख ६८ हजार खर्च भएको कुँवरले जानकारी दिए। मानवसेवा आश्रमको धनगढी उपमहानगर १५ उर्मीमा दुई बिघा जग्गामा निर्माण सुरु गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सम्पन्न गर्न सहयोगार्थ महायज्ञको आयोजना गरिएको जनाइएको छ।
उक्त भवन निर्माण भएपछि सुदूरपश्चिमका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ।