काठमाडौं– सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
अध्यक्ष दाहालले एमाले नेता–कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए। पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
त्यसो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष दाहालको दावी छ। अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए।
अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क गरे। उनले केपी ओली एक्लै केही नभएको पनि बताउनु भयो। अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहोर्याए। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए।
उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिए। अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहो¥याउनु भए। तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाइ थियो।