काठमाडौं। बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो कर्जामा कडाइ सुरु गरेका छन्। धितोमा लिएको सम्पत्ति बिक्री नभएर गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेपछि बैंकहरूले धितो कर्जामा कडाइ थालेका हुन्।
सबै बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा धितो सुरक्षणको प्राथमिकतामा घर जग्गालाई राख्छन्। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अर्थात् चालू वर्षको चैतसम्म बैंकबाट प्रवाहित कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत छ।
तर, गत वर्षको सोही अवधिमा भने बैंकहरूले घरजग्गा धितो सुरक्षणमा ६७.६ प्रतिशत कर्जा प्रवाह गरेका थिए। एक वर्षको अवधिमा बैंकको घरजग्गा धितो कर्जा २.४ प्रतिशत बिन्दुले घटेको छ।
बैंकहरूको कर्जा सुरक्षणको प्राथमिकतामा रहेको घरजग्गा धितोको अंश बैंकहरूले मूल्यांकनमा कडाइ गरेका कारण प्रमुख रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्। ‘घरजग्गा धितो बैंकको प्राथमिकता थियो तर अहिले पहिलेजस्तो धितो हेरेर मात्रै लोन दिँदैनन्,’ संघ अध्यक्ष कोइरालाले भने, ‘खरिद बिक्री घटेपछि मार्केट भ्यालुएसनै पहिलाको भन्दा घटेको छ। मूल्यांकनकर्ता (भ्यालुएटर)ले निकालेको रेसियोमा बैंकले बढाउन सम्झौता गर्दैनन्।’
घरजग्गा कारोबार घटेको र जग्गा हदबन्दीलगायत विभिन्न कारणले बैंकलाई धितो असुली तथा बिक्रीमा समस्या भएपछि धितो सुरक्षणमा संयमता अपनाउन थालेको उनको भनाइ छ।
२०७८ सम्म उच्च रहेको घरजग्गा कारोबार २०७९ लागेसँगै घट्न थालेको थियो। २०७८ मा ८ हजारसम्म लिखत पास हुने गरेकोमा २०७९ मा मुस्किलले ३ हजार र चालू वर्षमा करिब ५ हजार नजिक लिखत पास भएको भुमि व्यस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ।
बैंकहरूले घरजग्गा मूल्यांकन सरकारी र चलनचल्तीको आधार गर्छन्। सरकारी मूल्य चलनचल्तीको भन्दा धेरै कम हुन्छ। त्यसले गर्दा बैंकहरूले सरकारी मूल्यभन्दा बजार मूल्यलाई बढी राखेर मूल्यांकन गर्छन्। यसमा नियामकीय प्रावधानअनुसार कर्जा अनुपात कायम गरी कर्जा प्रवाह गर्छन्।
कारोबार उच्च भएको समय बैंकहरूले ९० प्रतिशतसम्म चलनचल्तीको र १० प्रतिशत सरकारी मूल्य राखेर औषत गरी आएको मूल्यांकनमा कर्जा दिएको थिए। उक्त समय बैंकहरूले ऋणको उपयोग कहाँभन्दा पनि ऋण लिनकै लागि कस्तो घरजग्गा धितो राख्न लागेका छन् भन्नेमा बढी ध्यान दिएका थिए।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू वर्षको चैतसम्म बैंकबाट प्रवाहित कर्जामध्ये चालू सम्पत्ति सुरक्षणमा १४.६ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत छ। गत वर्षको सोही अवधिमा बैंकहरूले घरजग्गा धितो सुरक्षणमा ६७.६ प्रतिशत कर्जा प्रवाह गरेका थिए।
घरजग्गा कारोबार उच्च हुँदा मूल्यांकनमा लचिलो भएका बैंकहरू अहिले कडाइ गर्न थालेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल बताउँछन्।
‘अहिले हामीले २०/८० प्रतिशत गरिरहेका छौं। पहिले धेरै गर्नेहरूले पनि अहिले घटाइरहेको सुनिन्छ, पहिलेजस्तो धितो मात्रै हेरेर लोन दिने समय अब छैन,’ सीईओ खनालले क्यापिटल नेपालसँग भने, ‘धितोले मात्रै कर्जा पाउन छाड्यो, क्यास फलोलाई पनि हेरेर कर्जा दिने गरिएको छ।’
घरजग्गा बिक्री घटेसँगै बैंकहरूलाई धितो बिक्रीमा समस्या भई गैरबैंकिङ सम्पत्तिमा खर्च बढेपछि घरजग्गा धितोमा कडाइ गर्न थालिएको उनको भनाइ छ।
कोभिडकालपछिको एक वर्ष ह्वात्तै बढेको घरजग्गा कारोबारले अहिले गति लिन नसक्दा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। चालू वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थामा ४४ अर्ब ८० करोड रुपैयाँ बढीको गैरबैंकिङ सम्पत्ति रहेको छ।
एकवर्षे अवधिमा यस्तो सम्पत्ति बैंकमा ६३ प्रतिशतले वृद्धि भएको हो भने २०७९ भन्दा १ सय ३९.७७ प्रतिशतले वृद्धि भएको हो। २०७९ असारसम्म बैंक तथा वित्तीय संस्थामा १० अर्ब ५२ करोड बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो।
अघिल्लो वर्षदेखि समग्र अर्थतन्त्र मन्दीको अवस्थामा गुज्रिरहेको छ। उद्योग तथा व्यापार व्यवसाय अपेक्षित रुपमा सञ्चालन हुन सकेको छैन। त्यसको प्रभावमा ऋणीले ऋणको साँवाब्याज समयमै भुक्तानी गर्न नसक्दा डिफल्ट रेट बढेको छ। साथै, बैंकहरूको लिलामी सूचनासमेत अघिल्लो वर्षदेखि नै बढ्दो छ।
घरजग्गा कारोबार उच्च हुँदा बैंकहरूले राम्रो धितो भनेर दिएको कर्जा अहिले डिफल्ट भएको र असुलीका लागि घरजग्गा बिक्री नै नभएको अवस्था छ। यही कारण बैंकहरूले धितो सुरक्षणलाई भन्दा नगद प्रवाहलाई प्राथमिकतामा राख्न थालेका हुन्।