सोमबार, जेठ २७, २०८२

बदलिए बालबालिका, सजिलो छैन सिकाइको लयमा फर्काउन

‘बालबालिकालाई सिकाइमा धेरै कुराले अवरोध गरिरहेको हुन्छ। त्यसका विभिन्न चरण हुन्छन्। केके हुन् भन्ने विद्यालय र शिक्षकले खोजी गर्नैपर्छ।’
 |  बुधबार, मंसिर ८, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, मंसिर ८, २०७८

काठमाडौं : कोरोना महामारीका कारण १८ महिनापछि विद्यालय जान थालेका बालबालिकामा फरक व्यवहार देखिन थालेको छ। शिक्षकहरुका अनुसार बालबालिकामा सिकाइमा त्यति रुचि देखिँदैन भने अटेरी र रिसाहा हुन थालेका छन्। सिकाइको लयमा ल्याउन चुनौती रहेकाले अभिभावक पनि यसबारे सजग हुनुपर्ने धारणा विज्ञहरुको छ।

क्यारेबियन स्कुलका प्रध्यानाध्यापक सन्तोष दाहाल भन्छन्, ‘पछिल्लो समय विद्यालय पुगेका बालबालिकाको समस्या पत्ता लगाउन कठिन भइरहेको छ। उनीहरुलाई कसरी लयमा फर्काउने भन्ने अन्योलमा छौं।’ 

कोरोना संक्रमणका कारण झन्डै डेढ वर्षदेखि बन्द विद्यालय बल्ल खुलेका छन्। कोरोना कालमा बालबालिका घरभित्रै बसे। इन्टरनेटको पहुँचका कारण बालबालिकालाई समय बिताउन सहज बनायो। बन्दाबन्दीमा शैक्षिक क्षेत्रलाई चलायमान बनाउन ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार अनलाइन कक्षा सञ्चालन गर्न अनुमति दिइयो। सहरी क्षेत्रका बालबालिका सहजै अनलाइनको पहुँचमा पुगे। शिक्षण सिकाइमा उनीहरुले के उपलब्धि हासिल गरे, त्यो अर्कै पाटो हो। तर इन्टरनेटको लतमा उनीहरु नराम्ररी फसेको विज्ञहरु बताउँछन्। सोही कारण उनीहरुमा विभिन्न समस्या देखिएका छन्।

चाइल्डसेफनेट र युनिसेफ नेपालले कोभिड–१९ को पहिलो लहरपछि गरेको एक सर्वेक्षणमा नेपालमा चारमध्ये एक जना बालबालिका वा युवाले दिनको १० घण्टाभन्दा बढी इन्टरनेट चलाउने गरेका छन्।

सेन्ट पाउल स्टेइनर एकेडेमीका प्रध्यानाध्यापक राधेकृष्ण महर्जन भन्छन्, ‘१८ महिनापछि विद्यालय खुलेपछि विद्यार्थी स्कुलमा त आए तर उनीहरुमा परिवर्तन हामीले पाएका छौं। एक जना विद्यार्थीमा अन्यमा भन्दा बढी नै समस्या देखिएपछि हामीले अभिभावकलाई कुरा गर्यौं।’ तर बालबालिकालाई मानसिक समस्या देखिन थालेको छ भन्दा अभिभावकले पत्याउन सकेनन्। अभिभावकले बालबालिकाको स्वास्थ्य अवस्थामा ध्यान नदिँदा यस्तो समस्या आएको उनी बताउँछन्। 

‘बालबालिकालाई सिकाइमा धेरै कुराले अवरोध गरिरहेको हुन्छ। त्यसका विभिन्न चरण हुन्छन्। केके हुन् भन्ने विद्यालय र शिक्षकले खोजी गर्नैपर्छ।’ 
बालबालिकाको सिकाइ शैलीमा परिवर्तन भएको छ भने अर्कोतर्फ अभिभावकले मेरो बच्चालाई केही भएको छैन भनेर चासो नदिँदा समस्या थपिँदै गएको छ। अब बालबालिकालाई पहिलाकै लयमा कसरी फर्काउने त? दाहाल भन्छन्, ‘बालबालिकालाई सिकाइमा धेरै कुराले अवरोध गरिरहेको हुन्छ। त्यसका विभिन्न चरण हुन्छन्। केके हुन् भन्ने विद्यालय र शिक्षकले खोजी गर्नैपर्छ।’ 

कुन चरणमा कसरी परामर्श गर्दा प्रभावकारी हुन्छ? कस्तो अभ्यास गर्ने? सरकार, विद्यालय, अभिभावक लगायत सरोकारवाला पक्ष सबैले योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव उनको छ। उनी भन्छन्, ‘बालबालिकालाई परामर्श गर्नु त्यति सजिलो छैन। सिकाइ अवरोध पत्ता लगाउनु जरुरी छ। यसमा केही चुनौती पनि छन्।’

माइलस्टोन स्कुलका प्रध्यानाध्यापक कृष्णप्रसाद चौलागाईंको अनुभवमा पछिल्लो समय बालबालिका घरबाटै पीडित भएका छन्। उनी भन्छन्, ‘अभिभावकको व्यस्तताका कारण पनि बालबालिका मानसिक रुपमा खुल्न सकेका छैनन्।’ बालबालिकाले के गरिरहेका छन् भन्ने ध्यान नदिँदा बालबालिकामा देखिएको परिवर्तन महसुस हुन नसकेको उनको बुझाइ छ। यस्तै बालबालिका अभिभावकको दबाबमा काम गर्नुपर्दा पनि त्यति स्वतन्त्र महसुस गर्न पाउँदैनन्। चौलागाईं भन्छन्, ‘बालबालिकालाई पहिलाकै लयमा फर्काउन घरैबाट परामर्श हुनु आवश्यक छ। अभिभावकले पनि बालबालिकाको समस्या बुझ्न कोसिस गर्नुपर्छ।’ 

प्याब्सन काठमाडौं महानगरपालिकाका अध्यक्ष हीरा महर्जन पनि बालबालिकामा अहिले रिसाउने स्वभाव बढी देखिएको बताउँछन्। उनी भन्छन्, ‘१८ महिनाअगाडिको तुलनामा बालबालिकामा केही परिवर्तन भएकै छ। पहिलाभन्दा अटेरी भएका छन्, बढी रिसाउने भएका छन्।’ 

बालबालिका खुसी नखेखिएको उनको बुझाइ छ। महर्जन भन्छन्, ‘बालबालिकाले कर्तव्यवोध गर्न चाहेका छैनन्। ४० मिनेटको कक्षामा धैर्य गरेर बस्न उनीहरुलाई गार्हो भएको छ। उनीहरुमा कल्पनशीलता हराउँदै गएको छ।’

मनोविद्हरुका अनुसार बालबालिकाको बानी र सिकाइमा परिवर्तनका लागि हतार गर्न हुँदैन। उनीहरुका समस्या बुझेर मात्र समाधानका उपाय खोज्नुपर्ने सुझाव मनोविद् केदार मरहठ्ठाको छ। ‘बालबालिका समस्यामा छन्। तर लयमा फर्काउन केही समय लाग्छ’, उनी भन्छन्, ‘पहिलो कुरा बालबालिकामा मनो समस्या, व्यावहारिक समस्या, सामाजिक समस्या कुन समस्या हो बुझ्नुपर्छ।’ 

अहिले बालबालिका स्कुल जान पाउँदा त खुसी देखिन्छन् तर उनीहरुमा समस्या देखिएको पककै छ। यस्तो समस्यालाई स्वाभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘बालबालिकाले नबोल्दैमा वा कम बोल्दैमा, एकोहोरो हुँदैमा मानसिक समस्या भन्न मिल्दैन।’

बालबालिकामा स्कुल जाँदा देखिएका समस्या बिस्तारै कम हुँदै जानुपर्छ। विद्यालय खुलेको पनि एक महिना हुन लागेको छ। मरहठ्ठा भन्छन्, ‘एक महिनासम्म पनि समस्या कम भएन भने त्यसलाई गम्भीरताका साथ हेर्नुपर्छ। बालबालिकामा समस्या कम हुँदै गएको छ भने त्यसलाई सामान्य लिनुपर्छ।’ 

बालबालिकाको र वयस्क मानिसको मानसिक समस्या पनि फरक शैलीको हुन्छ। बालबालिकामा रुनेकराउने, झगडा गर्ने, कपडामा पिसाब फेर्ने लगायतका लक्षण देखिन सक्छ भने वयस्कमा दुःखी हुने, रिसाउने, काममा ध्यान दिन नसक्ने, खाना नखाने लगायतका समस्या देखिन्छन्। 

‘शिक्षकले अभिभावकलाई जानकारी गराउँदा बालबालिकाको स्वास्थ्यको समस्या सीधै भन्नु भन्दा पनि उनीहरुले देखाइरहेको व्यवहार र परिवर्तनका बारेमा जानकारी गराउनुपर्छ।’ 
बालबालिकाका समस्यासँग पहिला जुध्ने त शिक्षक नै हुन्। त्यसैले विद्यार्थीको पहिलाको अवस्था र अहिलेको व्यवहारलाई नियालिरहनुपर्ने विज्ञहरु बताउँछन्। त्यसपछि मात्र बालबालिकामा देखा परेको परिवर्तन थाहा हुन्छ।  मरहठ्ठा भन्छन्, ‘शिक्षकले अभिभावकलाई जानकारी गराउँदा बालबालिकाको स्वास्थ्यको समस्या सीधै भन्नु भन्दा पनि उनीहरुले देखाइरहेको व्यवहार र परिवर्तनका बारेमा जानकारी गराउनुपर्छ।’ 

शिक्षकले पनि बालबालिकाको बानी परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छन्। सिकाइ क्रियाकलापका अतिरिक्त थोरै समय भए पनि घुमफिरमा लैजाने, खेलकुदमा सहभागी गराउने तथा बालबालिकाको रुचि र आवश्यकताअनुसारका सिकाइ गतिविधि गर्ने हो भने पनि समस्या कम हुँदै जान्छ।

दुई महिनाअगाडि चीनमा सरकारले बालबालिकाको अनलाइन गेम खेल्ने समयावधि घटाउँदै निश्चित समय तोकिदिएको थियो। त्यहाँ बालबालिकाले शुक्रवार, शनिबार र बिदाको दिनमा एक–एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउनेछन्। समयावधि लागू भए वा नभएका विषयमा अनलाइन गेमिङ कम्पनीहरूको निरीक्षण गर्ने व्यवस्था गरेको छ। तर नेपालमा बालबालिकाले कति समय इन्टरनेट चलाउने भन्ने कुनै नीति नियम छैन। ‘बालबालिकालाई तोकिएको समयमा मात्र इन्टरनेट चलाउन दिने हो भने पनि समस्या कम हुन सक्ने देखिन्छ’, मरहठ्ठा भन्छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल ९४.४१ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन्। २०१० मा २.६५ प्रतिशत नेपाली मात्र इन्टरनेटको पहुँचमा थिए। 

प्रकाशित: Nov 24, 2021| 06:20 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।