आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विदेश जानेलाई अस्पतालले नै यसरी बनाइदिन्छन् नक्कली पीसीआर रिपोर्ट

विदेश जानेलाई अस्पतालले नै यसरी बनाइदिन्छन् नक्कली पीसीआर रिपोर्ट

केही दिन अघिमात्रै अपराध महाशाखामा सुराकीको विशेष सूचना आएको थियो– ‘स्वाब संकलन समेत नगरी केही अस्पतालले नक्कली पीसीआर रिपोर्ट बाँड्दैछन्।’ यो सुनेर महाशाखा प्रहरी नेतृत्व नै झसंग भयो।
 |  बुधबार, माघ १९, २०७८

अनिल यादव

अनिल यादव

बुधबार, माघ १९, २०७८

काठमाडौं– विदेश जान चाहने व्यक्तिहरुका लागि सरकारले पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेपछि अस्पतालले नै नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको पाइएको छ। महानगरीय अपराध महाशाखाको टोलीले यस्तो धन्दामा संलग्न अस्पतालका चार जना कर्मचारी र बिचौलिया पक्राउ परेपछि यो रहस्य खुलेको हो। 

केही दिन अघिमात्रै अपराध महाशाखामा सुराकीको विशेष सूचना आएको थियो– ‘स्वाब संकलन समेत नगरी केही अस्पतालले नक्कली पीसीआर रिपोर्ट बाँड्दैछन्।’ यो सुनेर महाशाखा प्रहरी नेतृत्व नै झसंग भयो।

यही सूचनाका आधारमा मंगलबार बिहानै अपराध महाशाखाको प्रहरी टोली एयरपोर्ट आसपास खटियो। महाशाखालाई केही बिचौलियाले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई त्यतैबाट नक्कली पीसीआर रिपोर्ट बाँड्दैछन् भन्ने विशेष सूचना थियो। सूचनालाई पछ्याउँदै जाँदा बिहान साढे १० बजेतिर भक्तपुर कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ अस्पतालको परिचयपत्रसहित फेला परे, धनुषा घर भई ललितपुर ग्वार्को बस्ने रोशनकुमार छिट्टान (२५)।

‘हामीले उनको साथबाट ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट समेत फेला पार्यौं,’ अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले भने, ‘त्यसपछि खुल्यो नागरिक अस्पतालको आवरणमा भइरहेको कालो कर्तुतको थप रहस्य। उनीहरुले त एउटै व्यक्तिबाट १० हजारसम्म रकम असुलेर परीक्षण नै नगरी नेगेटिभ पीसीआर रिपोर्ट दिने रहेछन्। यतिसम्म कि एउटा व्यक्तिबाट गरिएको स्वाब संकलनको आधारमा अर्कोलाई नेगेटिभ रिपोर्ट दिएकोसम्म पायौं।

एसपी कोइरालाका अनुसार विमानस्थलमा छिट्टानलाई पक्राउ गरिसकेपछि महाशाखाको टोली सिधै नागरिक कम्युनिटी अस्पताल पुगेको थियो। नक्कली पीसीआर रिपोर्ट वितरणमा हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झासमेत संलग्न रहेको पाएपछि प्रहरीले उनलाई तत्काल पक्राउ गर्यो।

कान्तिपुर अस्पतालमा पनि उही धन्दा

विदेश जाने व्यक्तिहरुको सहजताका लागि नक्कली पीसीआर रिपोर्टलाई अस्पतालले धन्दाकै स्वरुपमा चलाएको पाएपछि महाशाखाले आफ्नो अपरेसनलाई यत्तिमै सीमित राखेन। थप खोजी गर्दै जाँदा काठामाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालमा समेत यस्तो धन्दा हुने गरेको पाइयो। 

प्रहरीले कान्तिपुर अस्पतालकै कर्मचारीको परिचयपत्र भिरेका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित पक्राउ गरेपछि थप रहस्य खुलेको हो। त्यसपछि यो धन्दामा संलग्न रहेको आरोपमा सोही अस्पतालको ल्याब कर्मचारी माधव मैनालीसमेत पक्राउ परेका छन्। प्रहरीले उनीहरुको साथबाट कान्तिपुर अस्पतालबाट स्वाब संकलन र परीक्षण नै नगरी सिधै पीसीआर रिपोर्ट नेगेटिभ दिइएका थप चार थान पीसीआर रिपोर्टसमेत बरामद गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले यस्तो धन्दामा संलग्न अस्पतालका चार जना कर्मचारी र बिचौलिया पक्राउ परेपछि यो रहस्य खुलेको हो।

प्रहरीले दुवै अस्पतालका ल्याब सञ्चालकद्वय भावेश मिश्र र निर्मल गिरी भने फरार रहेको बताएको छ। ‘हामीले राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुका प्रतिनिधिहरुको समेत रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटर लगायत उपकरण र पीसीआर टेष्ट दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिएको छौं,’ अपराध महाशाखा प्रमुख एसएसपी वसन्तराज कुँवरले भने, ‘हाललाई दुवै अस्पतालको पीसीआर ल्याबसमेत सिल गरेर सेवा बन्द गरेका छौं। फरार ल्याब सञ्चालक र चिकित्सक पनि खोजी गरिरहेका छौं। त्यसैले अझै धेरै कुरा खुल्न बाँकी नै छ।’

नक्कली पीसीआरमा बिचौलियाको बिगबिगी

विदेश जाने व्यक्तिहरुलाई अस्पतालको नक्कली पीसीआर रिपोर्ट वितरण गर्न विचौलियाहरु सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सरकारले निजी अस्पतालहरुलाई पीसीआर परीक्षणको मूल्य १५ सय तोकेको छ तर बिचौलियाहरुले १० हजारसम्म असुल्ने गरेको भेटिएको छ। 

‘दुवै अस्पतालहरुले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्र बनाइदिएर सामूहिक स्वाब संकलनमै प्रयोग गर्ने गरेको पाइयो,’ एसपी कोइरालाले भने, ‘अनि ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकहरुले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने रहेछन्। अस्पतालको यस्तो कर्तुतले कति कोरोनाका बिरामी, नक्कली रिपोर्ट लिएर बिदेसिए होलान्, यसै भन्न सकिन्न!’

यतिमात्रै होइन, प्रहरी अनुसन्धानबाट कतिपय पीसीआर पोजेटिभ देखिएका स्याम्पलको सिटी भ्यालुसमेत तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको समेत खुलेको छ। ‘उनीहरुले पीसीआर रिपोर्टको मिति समेत तलमाथि गर्ने रहेछन्,’ महाशाखा प्रमुख एसएसपी कुँवरले भने, ‘यसरी बनाइएका रिपोर्टहरु क्युआर कोर्डबाट स्क्यान गरेर हेर्दा समेत सक्कलीजस्तै लाग्ने रहेछन्। यो भयानक दृश्यले हामीलाई झस्काएको छ। हाम्रो यो अपरेसन यत्तिमै सकिँदैन। अरु अस्पतालहरु पनि हाम्रो निगरानीमै छन्।’

प्रकाशित: Feb 02, 2022| 14:54 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।