काठमाडौं- गत बिहीबार संसद् बैठकमा प्रस्तुत भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यसूची छ। एमसीसीमाथि छलफल हुने भएसँगै बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था बढाइएको छ।
एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो। नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।
आज पनि दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्। प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्दै आएको छ। प्रदर्शनकारीले निषेधाज्ञा तोडे बल प्रयोग गर्ने प्रहरीले जनाएको छ।
विरोध प्रदर्शन हुने भएसँगै सो क्षेत्रको ट्राफिक अस्तव्यस्त हुने भएको छ। ट्राफिक प्रहरीले दिउँसो जुलुस निस्कने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।