आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश-१ को प्रत्यक्षमा एक मात्र महिला उम्मेदवार बनिन् रिता न्यौपाने

प्रदेश-१ को प्रत्यक्षमा एक मात्र महिला उम्मेदवार बनिन् रिता न्यौपाने

। ०५१ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय न्यौपानेले प्रदेशसभाका लागि पहिलो पटक टिकट पाएकी हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, असोज २४, २०७९

विराटनगर- प्रदेश १ मा प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले ५३ वटामा उम्मेदवारी दिएको छ। जसपा र राप्रपासँग तालमेलका कारण झापामा २ र सुनसरीमा एक क्षेत्र एमालेले छाडेको छ। मोरङ ४ (ख) र ६ (ख)  जनता समाजवादी पार्टी (जसपा) लाई दिएको एमालेले अन्तिम समयमा आफ्नै उम्मेदवार उठाएको छ। प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५३ वटा क्षेत्रमा ५२ जना पुरुष उम्मेदवार छन्। एक क्षेत्रमा मात्र महिला उम्मेदवारी परेको छ। 

मोरङ क्षेत्र नं. ६ (क) बाट एमालेले रिता न्यौपानेलाई उम्मेदवार बनाएको छ। उनी एमालेबाट टिकट पाउने एक्ली महिला उम्मेदवार हुन्। ०५१ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय न्यौपानेले प्रदेशसभाका लागि पहिलो पटक टिकट पाएकी हुन्। 

०७४ मा बुढीगंगा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार भइसकेकी ४४ वर्षीया न्यौपाने राजनीतिसँगै सामाजिक र शैक्षिक सेवामा पनि उत्तिकै सक्रिय छन्। न्यौपाने अनेमसंघ मोरङ सचिव, एमाले बुढीगंगा गाउँपालिका कमिटी ईञ्चार्जदेखि, नेपाल जेसिज, डोरितान संघजस्ता सामाजिक संस्थामा आबद्ध छन्। बुढीगंगामा माध्यमिक तह सम्मको निजी विद्यालय सञ्चालन गरिरहेकी न्यौपाने राजनीति, सामाजिक र शैक्षिक तीन वटै क्षेत्रमा उत्तिकै सक्रिय छन्। 

'टिकट पाउनेमा आश थिएन'

एमालेको क्षेत्रीय समन्वय कमिटीले गत भदौ १८ गते न्यौपाने सहित क्षेत्र नं. ६ (ख) बाट ११ जनाको नाम सिफारिस गरेको थियो। स्थायी कमिटी सदस्य गुरु बरालसहित ११ जनाको नाम सिफारिस भएकोमा न्यौपानेले आफूले टिकट पाउनेमा ढुक्क थिइनन्। प्रदेशको प्रस्तावित मुख्यमन्त्रीमा बराललाई लिएर निर्वाचनमा जानेगरी सिफारिस भएको सन्देश पार्टी नेताहरुले दिएपछि न्यौपानेलाई स्थायी कमिटीकै नेता उम्मेदवार हुन खोज्दा आफू बाधक नबन्‍ने निष्कर्षमा पुगेकी थिइन्। 

नेता बरालको नाम प्रदेशमा सिफारिस भएकोमा स्थानीय नेता कार्यकर्ताहरु नै असन्तुष्ट भएपछि बराल ‘ब्याक’ हुने निर्णयमा पुगे। उनले प्रदेश कमिटीको बैठकमा आफ्नो नाम केन्द्रमा नपठाउन निर्देशन नै दिए। बराल प्रदेशमा उम्मेदवार नबन्‍ने निश्चित भएपछि न्यौपानेलाई थोरै आश लाग्यो। तर, आफू भन्दा सिनियर नेताहरु अरु पनि भएकाले ढुक्क हुन सकिनन्। पछिल्लो एक महिना कुनै नेताहरुले टिकट पाउनुहुन्छ भन्ने कुनै नेताले निश्चित छैन भन्ने कुराले उनलाई झन चिन्ता पनि थपियो। 

उम्मेदवार बन्‍न पाइएला-नपाइएला भन्‍नेमा ढुक्क नभएपछि उनले आफ्नो क्षेत्रबाट जसले टिकट पाए पनि अग्रपंक्तिमा रहेर निर्वाचन जिताएरै छाड्ने संकल्प गरिन्। ६ (क) को उम्मेदवार फाइनल भएपछि फेसबुक मार्फत त्यो सन्देश दिनका लागि तयारी पनि गरिन्। तर, असोज २१ गते उनका लागि खुसीको खबर आयो। पहिलो उनले टिकट पाइन्। दोश्रो उनी एमालेबाटै प्रदेश १ को प्रत्यक्षमा एक्लो महिला उम्मेदवार बनेको भन्दै बधाइ पनि पाइन्। 

प्रचण्डका कान्छा ज्वाइँ प्रतिस्पर्धी

टिकट पाउनै संघर्ष गरेकी न्यौपानेका प्रतिष्पर्धी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य छन्। २०७४ सालको निर्वाचनमा एमाले-माओवादी गठबन्धनका उम्मेदवार भइसकेका आचार्य ५ वर्षपछि सोही क्षेत्रबाट प्रदेशसभाका उम्मेदवार बनेका छन्।  ६ (क) मा जो सुकै उम्मेदवार आए पनि पराजित गर्न मानसिक रुपमा आफू तयार रहेको उनले बताइन्। चुनाव जित्‍नेमा आफू आशावादी रहेको न्यौपानेले बताइन्। 

उनले भनिन्,‘म वर्षौंदेखि यही क्षेत्रको सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रको विकासमा लागेकी छु।’ क्षेत्रका बासिन्दाले आफूलाई निर्वाचित गराएर पठाउने उनले बताइन्। टिकट पाएदेखि आफूले धेरै हौसला पाएको पनि उनले सुनाइन्।

अघिल्लो निर्वाचनमा आचार्यलाई कांग्रेस उम्मेदवार चुमनारायण तबदारले २ हजार ४३ मतान्तरले पराजित गरेका थिए। तबदारले २३ हजार ५१३ मतसहित निर्वाचित हुँदा आचार्यको पक्षमा २१ हजार ४७० मत परेको थियो। तवदार अहिले प्रतिनिधिसभा तर्फ समानुपातिक सूचीमा छन्। मोरङ ६ (क)मा बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २ देखि ७ तथा विराटनगर महानगरपालिकाको वडा नम्बर ४ पर्दछ। 

के छन् एजेण्डा?

आफूसँगै धेरै आश्वान नभएको बताउने न्यौपानेका आगामी निर्वाचनका लागि युवा स्वरोजगारका कार्यक्रम, महिला सशक्तिकरण, विद्यालयमा सिप विकास लक्षित कार्यक्रम, टोल, गाउँका स्थानीय स्तरका आवश्यकता अनुसारका योजना र कार्यक्रम तथा पूर्वाधारका कार्यक्रम मुख्य एजेण्डा छन्। उनले भनिन्,‘विजय भएपछि जनताले प्रत्यक्ष रुपमा अनुभूती गर्ने गरिको काम गर्नेछु।’ 



प्रकाशित: Oct 10, 2022| 20:15 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।