शनिबार, जेठ २५, २०८२

निर्वाचन शिक्षा सामग्रीमा किन लापरवाही गर्दै छ आयोग?

आयोगले निर्वाचन लक्षित अडियो तथा भिडियो निर्माणको जिम्मा दिन निर्वाचन प्रचार–प्रसार सामग्रीको अनुगमन र संस्था छनोट मूल्यांकनका लागि आन्तरिक संयन्त्र निर्माण गरेको छ। उक्त संयन्त्रले निर्वाचन शिक्षासम्बन्धी प्रचार सामग्री निर्माणका लागि संस्था छनोटको काम गरे पनि आयोगका कर्मचारीकै मिलेमतोमा चिनेजानेकालाई जिम्मा दिँदा विवाद बाहिर आएको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तीव्र तयारी गरिरहेको छ। आयोगले मतपत्र छाप्ने, निर्वाचन सामग्री सम्बन्धित निर्वाचन केन्द्रमा पुर्‍याउनेलगायत कार्य लगभग सम्पन्न गरेको छ।

आयोगले निर्वाचनका लागि निर्वाचन शिक्षाका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। विभिन्न जिल्लामा तालिम सञ्चालन गर्नेदेखि सामाजिक सञ्जालबाट निर्वाचन शिक्षासम्बन्धी सामग्री प्रसारण गरिरहेको छ। आयोगले हालसम्म दर्जन बढी निर्वाचन शिक्षासम्बन्धी सामग्री उत्पादन गरी  प्रसारण गरिरहेको छ। तर आयोगले निर्वाचन लक्षित उत्पादन गरेका केही सामग्री प्रसारण विवादमा परेका छन्। 

आयोगले उक्त सामग्रीप्रति आलोचना हुन थालेपछि हटाएको छ। आयोगले निर्वाचन शिक्षासम्बन्धी सामग्री बनाउँदा हेलचेक्र्याइँ गरेको भन्दै आलोचना भइरहेको छ। आयोगकै केही पदाधिकारीको स्वार्थमा संस्था छनोट हुने, चिनेजानेका व्यक्तिलाई काम दिन थालेपछि निर्वाचन शिक्षा कार्यक्रम विवादमा परेको आयोगका कर्मचारी नै बताउँछन्।

आयोगले गत ५ कात्तिकमा सामाजिक सञ्जालमा निर्वाचन शिक्षासम्बन्धी एक भिडियो अपलोड गर्‍यो। तर गुणस्तरीय सामग्री नभएको भनी चौतर्फी आलोचना भएपछि आयोगले क्षमा माग्दै भिडियो सामग्री हटाउन बाध्य भयो। 

आयोगले सार्वजनिक गरेको उक्त गीति भिडियोमा सुर, ताल नमिलेको, गायक–गायिकाको स्वर राम्रो नभएको, समावेशी चरित्रको नभएको भन्दै सामाजिक सञ्जालमा विवादका स्वर देखिए। भिडियो हटाएपछि आयोगले सामाजिक सजालमार्फत नै प्रस्टीकरण दिनुपर्‍यो।

सामाजिक सञ्जाल प्रयोगकर्ताले दिएको सुझावलाई सम्मान गर्दै उक्त निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाइएको आयोगले जनाएको थियो। 

मतदाता शिक्षा केन्द्रीय संयोजन समिति संयोजकसमेत रहेकी  निर्वाचन आयुक्त जानकी तुलाधरले आवाज दिएको भनिएको उक्त भिडियोमा सुर, तालको कुनै संयोजन नमिलेको भन्दै आलोचना भएको थियो। 

त्यस्तै, आयोगले सार्वजनिक गरेको अर्को एउटा भिडिओ पनि अहिले विवादमा परेको छ। आयोगले ‘आज पनि सान्दर्भिक एउटा नीतिकथा: जब शिवजीले तथास्तु भने...’ भन्ने सामग्री पोस्ट गरेको छ। एनिमेटेड गरिएको उक्त भिडियोको अवधारणा चोरिएको भन्दै आलोचना भएको छ। अर्कोतर्फ उक्त भिडियोले दिने सन्देश पनि स्पष्ट नभएको आलोचना भइरहेको छ।

आयोगले  मतदाता शिक्षाका नाममा अस्पष्ट भिडियो बनाएको र व्यर्थको खर्च गरेको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। 

आयोगले निर्वाचन लक्षित अडियो तथा भिडियो निर्माणको जिम्मा दिन निर्वाचन प्रचार–प्रसार सामग्रीको अनुगमन र संस्था छनोट मूल्यांकनका लागि आन्तरिक संयन्त्र निर्माण गरेको छ। उक्त संयन्त्रले निर्वाचन शिक्षासम्बन्धी प्रचार सामग्री निर्माणका लागि संस्था छनोटको काम गरे पनि आयोगका कर्मचारीकै मिलेमतोमा चिनेजानेकालाई जिम्मा दिँदा विवाद बाहिर आएको हो। 

आयोगका सहायक प्रवक्ता सूर्य अर्यालका अनुसार आयोगले मतदातालाई सुसूचित गर्न प्रचार सामग्री उत्पादन गरेर प्रसारण गर्दै आएको छ। विगतका निर्वाचनमा पनि यस्ता कार्य हुने गरेको उनले बताए। आगामी निर्वाचनका लागि पनि आयोगले निर्वाचन शिक्षासम्बन्धी सामग्री उत्पादन र प्रसारण गरिरहेको छ। 

अर्याल भन्छन्, ‘अहिले केही सामग्रीमा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट टीकाटिप्पणी भएको छ। टीकाटिप्पणी भएपछि तत्काल आयोगले त्यसलाई महत्त्वपूर्ण पृष्ठपोषणको रुपमा लिएर ती सामग्रीलाई परिमार्जन गरेको छ। हामीले विवादमा आएमा केही प्रचार सामग्री उत्पादकलाई सुधारका लागि अनुरोध गरी परिमार्जनपछि पुनः प्रसारण गरिरहेका छौं। त्यस्तै, अर्को पौराणिक कथामा आधारित पात्रलाई लिएर बनाइको भिडियो छ। यसमा पनि विभिन्न सुझाव आएका छन्। मतदान पनि भष्मासुरजस्तै नहोस् भन्न उक्त भिडियो बनाइएको हो। नेपाली समाजमा चलेको, सुनेको कथालाई सान्दर्भिक रुपमा बनाइएको थियो। यो पनि कपी भएको भन्ने जानकारी आएकाले त्यसप्रति ध्यानाकर्षण भएको छ।’

आयोगले निर्वाचन शिक्षा सामग्री बनाउँदा कहीँकतै चुकेको अर्याल स्वीकार्छन्। तर ती सामग्रीमाथि सुझाव आएकाले तत्काल सुधार्दै लगिएको उनको दाबी छ। 

अर्याल भन्छन्, ‘कुन प्रचार सामग्री कति मिलेको छ/छैन भनी आयोगले त्यसलाई गहिरो अध्ययन गरेर थप सुधार्नुपर्ने भए सुधार्ने र हटाउनैपर्ने भए हटाउने गरेको छ। हामी जनचाहना विपरीत जाँदैनौं। सबैको सुझाव समेट्दै नागरिकलाई सुसूचित बनाउनु आयोगको कर्तव्य हो।’

अर्यालका अनुसार निर्वाचन शिक्षा सामग्री निर्माणका लागि आयोगले विद्युतीय बोलपत्र आह्वान गरेको थियो।  त्यसपछि प्राप्त आवेदनमध्येबाट छानेर हामीले अडियो तथा भिडियो निर्माणको जिम्मा दिएका हौं। आयोगको निर्वाचन प्रचार–प्रसार सामग्रीको अनुगमन र संस्था छनोट मूल्यांकनका लागि एउटा आन्तरिक संयन्त्र क्रियाशील छ। उक्त संयन्त्रले निर्वाचन शिक्षासम्बन्धी प्रचार सामग्री निर्माणका लागि संस्था छनोटको काम गर्छ।’

तर आयोग स्रोतका अनुसार संस्था छनोट गर्दा आयोगका कर्मचारीले चिनेजानेका आधारमा उक्त प्रोजेक्ट दिएको आरोप लागेको छ। 

निर्वाचन मिति नजिकिँदै गर्दा प्रचार सामग्री बनाउन पर्याप्त समय पनि नभएकाले केही कमजोरी भएको उनी बताउँछन्। ‘केही सामग्रीमा कमजोरी देखियो।  सुरुमा आएका ती सामग्रीले सूचना दिन सक्छन् भन्ने सोचियो। कमी–कमजोरी भएकै हो।  हामीलाई सुझाव आएपछि अहिले सोही बजेटमा अन्य प्रचार सामग्री उत्पादन भएका छन्। बजेटभित्रै रहेर उत्पादकलाई तुरुन्तै अर्को बनाउन पठाइएपछि अहिले  गुणस्तरीय भिडियो बनेका छन्,’ अर्यालले भने। 

सामाजिक सञ्जाल र नागरिक स्तरबाटै आलोचना भएपछि आयोग गम्भीर भएको उनको भनाइ छ। अर्याल भन्छन्, ‘अहिले हामी सचेत भएका छौं। हामीलाई प्राप्त सामग्री ठूलो समूहमा बसेर डिस्प्लेमार्फत प्रदर्शन गर्ने र समूहबाटै सामूहिक निर्णयपछि निर्क्योल गरेपछि मात्रै प्रचार गर्छौं।’ 

मतदाता शिक्षा सामग्री निर्माण गर्दा ख्यातिप्राप्त कलाकार वा सार्वजनिक व्यक्तित्वलाई समावेश गराउनुपर्ने सामाजिक सञ्जालमा आवाज पनि उठिरहेका छन्। तर हाल कलाकारको आवेदन भने नपरेको अर्याल बताउँछन्। अघिल्लो निर्वाचनमा पनि राष्ट्रिय कलाकारले महँगो बजेटमा काम माग्ने तर आयोगले निश्चित बजेट तोकेको हुँदा यस पटक राष्ट्रिय कलाकारको आवेदन नपरेको उनको बुझाइ छ। 

स्थानीय निर्वाचनमा त्यति धेरै निर्वाचन शिक्षा कार्यक्रमसम्बन्धी प्रचार सामग्री नबनेकाले हाल यसका लागि आयोगले जोड दिइरहेको उनले बताए।

प्रकाशित: Nov 04, 2022| 13:20 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...