चितवन- इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन्। साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन्।
अङ्ग्रेजी नयाँ वर्षको अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ। नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन्।
सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिए। साँझसम्ममा सबै होटल भरिने उनको अनुमान रहेको छ। उनले भने, 'यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ।'
सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आएका माधव दुवाडीले दुई दिनयता दुवै होटल भरिएको बताए। होटल सेभेन स्टारमा आज साङ्गीतिक कार्यक्रम रहेको भन्दै उनले अर्को होटेल पनि भरिएको बताए।
पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन्। मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको बताए। उनले भने, 'अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ।' जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए।
क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले क्रमश पर्यटक बढ्दै गएकोले आव साँझसम्ममा होटल भरिने अपेक्षा रहेको बताए। पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन्। सौराहामा एक सय २० होटल क्षेत्रीय होटल संघमा आबद्ध छन्। संघमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन्। भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता छ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैँडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन्। थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन्। कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन्।