दैलेख- बँदेललाई थापेको पासोमा परेर चितुवाको मरेको छ। दुल्लु नगरपालिका–९ चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवा उद्धार गरेर दैलेख सदरमुकाम ल्याउदै गर्दा श्रीस्थानमा मरेको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले बताए।
बँदेलका लागी थापेको पासोमा परेर चितुवा घाइते भएको भन्ने आइतबार बिहान खबर प्राप्त भएपछि बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काको टोलीले घटनास्थलबाट उद्धार गरेको ढकालले बताए।
‘उद्दार गरिएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्ज लैजान गाडीमा आउदै थियौँ बाटैमा मर्यो। पशु अस्पतालमा पोष्टमार्टम गर्न लगाइयो,’ बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काले भने।
बँदेललाई थापेको पासोमा परेपछि चितुवा भाग्न खोज्दा डोरीले कसिएर पछाडिको भाग नचल्ने भएको र त्यही दुखाइले चितुवा मरेको पशु चिकित्सक डा. खड्काले बताए।
उपचार गर्न खोजिएको चितुवा बाटैमा मरेको कारण राष्ट्रिय आखेटोपहार चितवनमा पठाउनका लागि मृत चितुवाको छाला काढेको र भित्री शरीर पशु अस्पताल दैलेखको हातामा गाडिएको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए।
दुल्लु नगरपालिका–९ पादुवा क्षेत्रमा बँदेलले अन्नबाली र सागपात नोक्सानी थालेपछिको कुरा डिभिजन वन कार्यालयलाई खबर गरे पनि त्यस क्षेत्रमा बँदेललाई पासो थाप्ने गरिएको स्थानीयको भनाइ छ।