झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन्।
कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन्।
उनीहरु माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार घटनास्थलमा प्रहरी टोली घटाइएको छ।
गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए। तर, युवतीका अभिभावकले छोरी नाबालिग भएको भन्दै आफ्नो घर फर्काएको प्रहरीले बताएको छ। दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको बताइएको छ।
यसअघि गत साउनमा कचनकवल-५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए।