बाजुरा– बाजुरामा गत मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्ण रूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले तथ्यांक बाहिर ल्याएको छ। भूकम्पबाट तीन पालिकाका परिवार विस्थापित भएका हुन्।
भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमूल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन्। भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन्।
भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमूलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन्। बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए। भूकम्पका कारण झन्डै चार सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले संकलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ।
भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगंगामा एक घर पूर्ण रूपमा क्षति भएको छ भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्ण रूपमा क्षति भएको डिएसपी थापाले बताए। बडीमालिकामा ३१, बूढीनन्दामा ९, हिमालीमा ९, खप्तड छेडेदह पाँच र गौमूलका पाँच घरमा आंशिक रूपमा क्षति पुगेको छ।
यसैगरी भूकम्पले बडीमालिकामा १८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ। भूकम्पबाट प्रहरी चौकी बिच्छ्या जोखिममा छ। प्रहरी चौकी कुन्नार र कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ।
भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। भूकम्पबाट गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली गाउँपालिका–१ कि ६ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ।
बोहरा, महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। भूकम्पका कारण गौमुल–१ अम्लिसका बोहराका ३५ भेडा मरेका डिएसपी थापाले बताए। भूकम्पले पुगेको क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ।