काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोधस्वरुप शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला जलाएको छ।
शुक्रबार काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि उनीहरूले शिक्षामन्त्री खनालको पुत्ला जलाएका हुन्। निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइ जिम्मा दिएको, जनक शिक्षा सामग्री केन्द्रलाई डुबाउने प्रपञ्च गरिएको अनेरास्ववियुले आरोप लगाएको छ।
मन्त्रालयले प्रत्येक वर्ष हुने पाठ्यपुस्तक अभाव कम गर्न आगामी शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो। सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रण संस्थालाई सूचीकरण हुन आह्वान गरेको छ।
शिक्षामन्त्री खनालले शैक्षिक सत्र सुरु भएको १० महिना बित्दासमेत दुर्गम क्षेत्रमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेपछि पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपरेको प्रस्टीकरण दिएका छन्।