काठमाडौं– बागमती नदी किनार कब्जा गरेर अवैध रुपमा बस्दै आएका सुकुम्बासीले विकल्पबिनै उठिबास् लगाइन थालेको दाबीसहित विरोधस्वरुप माइतीघरमा धर्ना बसेका छन्।
शुक्रबार सुकुम्बासी बस्ती खाली गर्न महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले पटक–पटक सूचना जारी गरे पनि अटेर गरिरहेका उनीहरु विभिन्न मागसहितका प्लेकार्ड बोकेर माइतीघरमा धर्ना बसेका हुन्।
दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएका उनीहरूले व्यवस्थापन नगरी बस्तीमा डोजर चलाउन लागिएपछि विरोध प्रदशनमा उत्रिनुपरेको बताएका छन्। प्रदर्शनकारी माइतीघर हुँदै बानेश्वरतिर लागेका छन्।
विरोध प्रदर्शनमा उत्रिएकाहरुले भू–स्वामित्वसहितको लालपुर्जा वितरण, स्थायी विकल्पबिना उठिबास बन्द गर्नुपर्ने, भूमि अभियन्तामाथि लगाइएका झुटा मुद्दा निःसर्त फिर्तालगायतका माग राखेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका लागि शान्तिपूर्ण सडक आन्दोलन थालिएको बताएको छ।