काठमाडौं– काठमाडौंको सीतापाइलमा मिनीबस र सुमो एकआपसमा ठोक्किँदा एकको मृत्यु र तीन जना घाइते भएको काठमाडौं प्रहरी परिसरले बताएको छ।
सोमबार बिहान ११ बजे कलंकीबाट सीतापाइला आउँदै गरेको बा२ ख ३६ मिनीबस र सीतापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना१ज ३४२१ नम्बरको सुमो एकआपसमा ठोक्किएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
दुर्घटनामा परेर रसुवाको गोसाइँकुण्ड–६ घर भई हाल पुतलीसडक बस्ने ५१ वर्षीया यायालम घलेको दिउँसो १ बजेतिर मृत्यु भएको छ। दुर्घटना लगतै प्रहरी वृत्त स्वयम्भू र कालीमाटीबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी अस्पताल पठाएका थिए।
प्रहरीले मनमोहन अस्पताल लगिएका तीन जनाको अवस्था सामान्य रहेको र नेसनल अस्पताल कलंकीमा उपचाररत एक जना गम्भीर घाइतेको उपचार भइरहेको जानकारी दिएको छ।