काठमाडौं- भारतीय कंग्रेस पार्टी नेता राहुल गान्धीको कन्याकुमारीदेखि कश्मीरसम्मको करिब ३ हजार ५७० किलोमिटरको यात्रा श्रीनगरको शेर ए कश्मीर रंगशालामा पुगेर समापन भएको छ। गान्धीले भारतबासीलाई एकसूत्रमा जोड्न कुल १४६ दिने भारत जोडो यात्रा समापन गरेका हुन्।
यो यात्राका दौरान राहुलले १४ राज्यको यात्रा गरेका छन्। जसमा तामिलनाडुको कन्याकुमारीदेखि केरला, आन्ध्र प्रदेश, कर्नाटक, तेलंगाना, महाराष्ट्र, मध्य प्रदेश, गुजरात, उत्तरप्रदेश, दिल्ली, हरियाणाका साथै पञ्जाब र जम्मु–कश्मीर छन्।
भारतको दक्षिणदेखि उत्तरसम्मको यात्राको दौरान कंग्रेसले आगामी वर्ष हुने लोकसभा चुनावलाई केन्द्रमा राखेर यात्रा गरिरहेको थियो। तर यो दौरानमा यात्राभन्दा पनि राहुलको बदलिएको ‘लुक्स’ लाई लिएर धेरै चर्चा भइरहेका छन्।
कन्याकुमारीमा ७ सेप्टेम्बरमा यात्रा सुरु गर्दा राहुलको अनुहारमा केही मात्रामा मात्र दाह्री देखिन्थ्यो। तर पाँच महिनापछि उनको अनुहार पूरै फेरिएको देखिन्छ। अनुहारमा बाक्ला रौं पलाएका छ भने शिरको कपाल पनि लामो भएको छ। राहुलको सफा सर्टको पनि चर्चा भएको छ। यसलाई लगाएर उनी कडा घाम र पानीमा पनि हिँडिरहेको दृष्य देख्न सकिन्छ।
राहुले यात्रा सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेका थिए। त्यतिबेला उनले यसलाई मनसँग मन जोड्ने यात्राका रुपमा चिनाउन खोजेको पनि बताएका थिए। त्यसैले उनले यसलाई ‘भारत जोडो यात्रा’ नामकरण गरेका थिए।
यात्राको दौरान उनी मानिससँग कहिले गफ गर्दै अघि बढ्थे। राहुल ७ अक्टोबरमा कर्नाटकको मैसुर पुगेका थिए। त्यहाँ उनले दिनभर यात्रा गरे। यात्रापछि राहुल समर्थक र सर्वसाधारणलाई सम्बोधन गर्न मञ्चतर्फ अघि बढिरहेको समय वर्षा सुरु भएको थियो। तर उनले वर्षा रोकिने समयसम्म पर्खिएनन र आफ्नो भाषण सुरु गरिहाले। उनले भिज्दै भाषण अघि बढाए।
उनी आन्ध्र प्रदेशको सीमामा यात्रा गरिरहेको समय रामलीला कलाकार भारत जोडो र्यालीमा समावेश भएका थिए। उनले ती कलाकारलाई सम्मान गरेका थिए। जब उनी तेलंगाना पुगे, त्यहाँ किसानको समर्थनमा उखु बोकेर यात्रा गरे। त्यहाँ पुग्दासम्म राहुलको लुक धेरै फेरिइसकेको थियो। तर उनको टिसर्ट भने निकै चम्किलो देखिन्थ्यो।
१९ नोभेम्बरमा उनको यात्रा महाराष्ट्रमा पुगेको थियो। त्यो दिन इन्दिरा गान्धीको जन्मदिन थियो। त्यो दिन उनको यात्रालाई महिलाले मात्र साथ थिए। सोही दिन उनले केटाकेटीसँग पनि यात्रा गरेको देखिएको थियो।
उनलाई बाटोमा बहिनी प्रियंका गाधीले साथ दिएकी थिइन्। राजस्थानमा कंग्रेसको मेगा शो आयोजना गरिएको थियो। त्यहाँ पुग्दा जाडो सुरु भए पनि राहुल केबल टी–सर्टमा यात्रा गरिरहेका देखिन्थे। यात्रामा उनले जनतालाई मात्र भेटेनन्, पार्टी कार्यकर्तालाई समेत भेटे।
पञ्जाबको जालन्धरमा भारत जोडो यात्रामा सहभागी सांसद सन्तोख सिंह चौधरीको हर्ट अट्याकका कारण निधन भएको थियो। त्यसपछि उनले तुरुन्त यात्रा समाप्त गरेका थिए। त्यसपछि राहुलले चौधरीकै घर पुगेर उनलाई समवेदना दिएका थिए।
राहुल जब उनी जम्मु कश्मीर पुगे, त्यहाँ धेरै जाडो थियो। राहुल त्यहाँ टोपी लगाएर जनतालाई सम्बोधन गरेका देखिन्थे। साथमा रहेका मानिसले बाक्लो कपडा लगाए पनि उनी हाफ स्लिब्समा देखिएका थिए। श्रीनगरमा यात्रा समापन गर्दाका बखत नै हिउँ पर्न सुरु भएको थियो।
त्यतिबेला राहुल र प्रियंका गान्धीले खुबै रमाइलो गरेका तस्बिर सार्वजनिक भएका छन्। उनीहरू एकअर्कालाई हिउँ फालिरहेका देखिन्थे। यो यात्रा १० डिसेम्बरदेखि २ जनवरीसम्म भने रोकिएको थियो।
यात्राको उद्देश्य
यो यात्राबारे राहुल र स्वयं उनको पार्टीका धेरै उद्देश्य रहेका छन्। केन्द्रमा बिजेपी नेतृत्वको नेसनल डेमोक्रेटिक एलाइन्स सरकारको समय देशमा बढिरहेको आर्थिक असमानताविरुद्ध उनले यात्रा गरेको बताएका थिए।
त्यस्तै, भारतमा अहिले हिन्दु–मुस्लिम दंगाले धेरै चर्चा पाएको छ। मिडियाले पनि भारतको वास्तविक समस्यालाई ढाकछोप गरी यस्ता विषयालाई बढावा दिँदै आएका छन्। जाति, धर्म, भाषा, नश्ल र रंगको आधारमा बढिरहेको भेदभाव अनि अपराधविरुद्धमा राहुलले भारत जोडो यात्रा गरेका थिए।
त्यस्तै, उनको तेस्रो उद्देश्य केन्द्र सरकारले सत्ता र सरकारी एजेन्सीको दुरुपयोग गरेको विरोधमा यात्रा गरे। मुख्यगरी आगामी २०२४ को लोकसभा चुनावभन्दा पहिले जनसमर्थन हासिल गर्न पनि उनको यात्रा आयोजना गरिएको थियो।