काठमाडौं- वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ।
व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि गत वैशाख २४ गतेदेखि विभागले भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने सेवा स्थगित गरेको थियो। अन्तर्राष्ट्रिय उडानमा सरकारले सहज गरेसँगै यसअघि हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्दै आएकोमा आगामी हप्ताबाट एक दिन फेरि थप गरिएको हो।