काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन्। आज छैटौं एसियाली जनसंख्या सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकारका प्रयास जारी रहेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले काठमाण्डु मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुकी आमासँग भर्चुअल संवाद गरेर सम्मेलन उद्घाटन गरे।
उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए। उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे।
उनले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्त्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएकामा जोड दिए। प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल, एसियाली जनसंख्या एसोसिएसनका अध्यक्ष रेइको हायाशीलगायत सहभागी थिए।