दार्चुला। दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलंगा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हो।
गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन्। ‘६ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्ताको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन्।’ ६ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ।
टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन। स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्। वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भने, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ।’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ। राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो।
सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन। यद्यपि गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ। यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन्।
उनी भन्छन्, ‘कहिलेकाहीँ आफ्नै सरकारप्रति हीनताबोध हुन्छ।’ २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए। ‘भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्यौं’, जसमल बुढाथोकीले सुनाए, ‘तर नक्सा पाएका नागरिकका लागि पैदल बाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदै छ। सडक सपना त अझै धेरै टाढाको छ।’
नक्सा जारी भएपछि एकपटक सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको थियो। नागरिकमा एक प्रकारको खुसी महसुस छायो। तर, विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ। उतिबेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो।
यहाँका बासिन्दा वर्षको आधा समय खलंगामा र बाँकी समय टिंकरमा बस्ने गर्छन्। उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ। कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइँसराइ हो। तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न नसकिने दानसिंह बताउँछन्। चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलंगातिर सर्छन्।
स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडीबुटी संकलन हो। यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ। उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन्। अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन्।–रासस