पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए।
‘‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राती १२ बजेदेखि उक्त कर्फ्यु आदेश हटाउने निर्णय भएको छ’, प्रजिअ अर्यालले भने, ‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई दृष्टिगत गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ।’
प्रजिअ अर्यालले उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेका छन्।
वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो।
नयाँ वर्ष प्रभावित
हनुमान जयन्ती अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न परिस्थितिले नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ।
गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यु)आदेशको कारणले वीरगञ्जवासीको नयाँ वर्ष अन्य वर्षजस्तै मनाउन पाएनन्।
नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधज्ञाका कारण शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए।
‘नयाँ वर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधाज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ’, उनले भने, ‘नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धराशयी हुने अवस्थामा पुगेको छ।’
अध्यक्ष पन्तले नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्थे। तर, अहिले भने निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाइरहेका छैनन्।
नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते बेलुका ६.३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर निषेधआज्ञा जारी भएको थियो। नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भए भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे।
वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन्। वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भीष्वा, क्लार्क रिसोर्ट, सुरज होटल लगायतका रहेका छन्।
वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन्। एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छाया र अर्काेतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीको कारणले पनि वीरगञ्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन्। सीमावर्ती रक्सौल नाका हँुदै मासिक हजारौँको संख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन्।
भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगञ्जलाई केबल बाटोका रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन्। यसले वीरगञ्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन्। वीरगञ्जमा करिब १० अर्ब भन्दा धेरै लागतमा तारे तथा अन्य होटल सञ्चालनमा छन्।