काठमाडौं। ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको स्रोत’ भन्दै भक्तपुरमा आयोजित महोत्सवमा दर्शकको घुइँचो लागेको छ। महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५० हजार जनाले अवलोकन गरेका छन्।
भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा बैशाख ७ गतेसम्म महोत्सव सञ्चालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्।
नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु रहेको अध्यक्ष महतले बताए।
औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, अटो मोबाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा बिक्री भइरहेका छन्। मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी र बिक्रीका लागि स्टलहरु छन्।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ।
मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए।
मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न ५० र ८० रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ।