काठमाडौं- चालु आर्थिक वर्षको पहिलो एघार महिना (जेठ मसान्त)सम्म आइपुग्दा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँ घाटामा गएको छ। वैशाखसम्ममा शोधनान्तर अवस्था ७ अर्ब ७५ करोड ६० लाख रुपैयाँ बचतमा रहेको शोधनान्तर जेठ मसान्तसम्म आइपुग्दा घटेर १५ अर्ब १४ करोड रुपैयाँ घाटामा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।
देश भित्रने र बाहिरिने रकम शोधनान्तर हो। देशबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम बढी भएमा शोधनान्तर बचत हुन्छ भने कम भएमा घाटा हुन्छ। नेपालमा यस्तो घाटा दुई वर्षपछि भएको हो। २०७६ साल असार अन्तिममा नेपालको शोधनान्तर घाटा ६७ अर्ब ४० करोड रुपैयाँ घाटामा थियो तर २०७७ असार मसान्तमा २ खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ बचतमा पुगेको थियो।
२०७६ साल असार अन्तिममा नेपालको शोधनान्तर घाटा ६७ अर्ब ४० करोड रुपैयाँ घाटामा थियो तर २०७७ असार मसान्तमा २ खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ बचतमा पुगेको थियो।
नेपालमा भित्रिने मुख्य रकम रेमिट्यान्स, प्रत्यक्ष वैदेशिक लगानी र निर्यात हुन्। पर्यटन आगमनबाट भित्रिने रकममा कमी आएसँगै आयातमा वृद्धि हुँदा नेपालको शोधनान्तर घाटा बढेको हो। २०७६ साल असारमा रेमिट्यान्समार्फत् ८ खर्ब ७९ अर्ब २७ करोड र २०७७ असार मसान्तमा ८ खर्ब ७५ अर्ब २ करोड रुपैयाँ भित्रिएको थियो। सो समयममा प्रत्यक्ष वैदेशिक सहायता क्रमशः १३ अर्ब ६ करोड र १९ अर्ब ४७ करोड रुपैयाँ रकम भित्रिएको थियो।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा भने नेपालमा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ भने २०७७ असार मसान्तसम्ममा ११ खर्ब ९६ अर्ब र २०७६ असार मसान्तसम्ममा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
पछिल्लो समयमा आयातमा आएको वृद्धिसँगै शोधनान्तर घाटा बढ्दै गएको हो। निर्यातमा कमी आउनु र नेपालमा भित्रने वैदेशिक रकम पनि कम हुँदा शोधनान्तर घाटामा गएको हो। पछिल्लो समय कोरोनाका कारण पनि नेपालमा आयातमा कमी आएको थियो तर जेठदेखि भने आयातमा वृद्धि भइरहेको छ। यसको असर शोधनान्तरमा पर्न गएको हो।