सोलु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।
निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटल भरिभराउ भएका हुन्। ६ सय आठ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उनले जानकारी दिए। श्रेष्ठले नाम्चेको यात्रामा ६ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेको बताए।
वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाको भनाइ छ।
मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको संख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए।
खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए।
उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटल पर्यटकले भरिएका छन्। खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उनको भनाइ छ। स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व संकलन वृद्धि भएको जनाइएको छ।
निकुञ्ज कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति एक हजार ५००, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति तीन हजार र नेपालीबाट एक सय प्रवेश शुल्क लिने गरिएको छ। उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्।
उनका अनुसार अधिकांश पर्यटक काठमाडौँ र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन्। त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उनले जानकारी दिइन्।–रासस