काठमाडौं। विराटनगरमा शनिबार जोखिम व्यवस्थापन तथा बिमासम्बन्धी समसामयिक विषयमा एकदिवसीय सेमिनार सम्पन्न भएको छ।
नेपाल बीमा अनुसन्धान तथा व्यवस्थापन संघ (एनआईआरएमए) को आयोजना र नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (एनआईपीएस) को सहकार्यमा सम्पन्न कार्यक्रममा जीवन बिमा, निर्जिवन बिमा तथा लघु बिमा कम्पनीबाट १६० जना कर्मचारीको सहभागिता थियो।
सेमिनारको उद्घाटनसत्र एनआईपीएसको कोशी प्रदेश अध्यक्ष खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमको उद्घाटन नेपाल बिमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद पोखरेल, एनआईआरएमएका अध्यक्ष डा रविन्द्र घिमिरे र एनआईपीएसका कोशी प्रदेश अध्यक्ष खड्गबहादुर श्रेष्ठद्वारा संयुक्त रुपमा गरियो। स्वागत मन्तव्य एनआईपीएसका उपाध्यक्ष प्रदीप बाबु तिवारीले तथा कार्यक्रम सञ्चालन सचिव प्रकाश पोखरेलले गरेका थिए।
कार्यक्रममा अतिथिका रुपमा नेपाल बमिा सर्भेयर संघका केन्द्रीय सदस्य ओमप्रकाश राठीले बिमा व्यवसायमा नैतिकता र नियमित तालिमको आवश्यकता औँल्याउँदै बिमा कर्मचारी र सर्वेक्षकलाई अद्यावधिक ज्ञान र व्यावसायिक आचरणलाई आत्मसात गर्न जोड दिए।
नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले यस्ता तालिमले गुणस्तरीय व्यवसाय अभिवृद्धि, नैतिक जोखिम न्यूनीकरण, र कम्पनीको विश्वसनीयता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पुनर्बीमा कम्पनी सधैँ कर्मचारीको क्षमता अभिवृद्धिमा तत्पर रहेको उल्लेख गरे।
कार्यक्रमका मुख्य उद्देश्यमा बिमा सिद्धान्त, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा र समसामयिक जोखिम व्यवस्थापन विधिबारे उन्नत प्रशिक्षण प्रदान गर्नु, आधुनिक जोखिम विश्लेषण र ठगी नियन्त्रणका प्रविधि सिकाउनु, अन्तर्राष्ट्रिय अभ्यास साझेदारी गर्नु, बीमा क्षेत्रमा अनुसन्धान र छलफलको वातावरण निर्माण गर्नु समावेश थियो।
सेमिनारमा विभिन्न ५ सेसनहरु सञ्चालन गरिएको थियो । डाघिमिरेले जोखिम व्यवस्थापन र बिमा क्षेत्रका समसामयिक विषयमा प्रस्तुति दिए। उनले बिमा क्षेत्रमा व्याप्त नैतिक समस्या, सेवा स्तरमा सुधारको आवश्यकता र नेपालमा बीमा उद्योगलाई विश्वसनीय बनाउने उपायमा जोड दिए।
बिमा कम्पनीका कर्मचारीहरुले उच्च इमानदारी, पारदर्शिता र अद्यावधिक ज्ञान राख्नुपर्ने उल्लेख गर्दै घिमिरेले बिमा उद्योगलाई सामाजिक रुपमा मान्यता प्राप्त बनाउने अभियानमा सबैको उत्तरदायित्व रहेको बताए। साथै, बीमा व्यवसाय शुद्धीकरणमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले निरन्तर सिकाइको बताए।
बिमाविज्ञ विनोदकुमार पोखरेलले कर्पोरेट सुशासन र बीमासम्बन्धी कानुनी प्रावधान विषयमा विस्तृत रुपमा प्रस्तुत गरे। उनले बिमा ऐन तथा नियमावलीअनुसार कर्मचारी, व्यवस्थापन तथा बोर्ड सदस्यको अधिकार, कर्तव्य र दण्ड व्यवस्थाबारे चर्चा गरे।