काठमाडौं। दोस्रो पदावधिका लागि निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पद सम्हालेको ठ्याक्कै १०० दिन पुगेको छ।
सस्तो लोकप्रियताका लागि आप्रवासन नीतिमा कडाइ र ट्यारिफ वृद्धिपछि आर्थिक, राजनीतिक र रणनीतिक साझेदारसमेत ट्रम्पप्रति सशंकित भएका छन्।
कार्यभार सम्हाल्नेबित्तिकै इजरालय र इजिप्टबाहेक संसारभरका मुलुकलाई दिँदै आएको आर्थिक सहयोग तीन महिनाका लागि बन्द गरेर चर्चा कमाएका ट्रम्पले आप्रवास नीतिलाई कडाइ गरे।
विश्वका व्यापार साझेदार ६५ मुलुकमाथि थप आयकर लगाउने घोषणा गरेपछि अमेरिकाभित्रै ट्रम्पको आलोचना गर्ने नागरिकको संख्या ह्वात्तै बढेको छ।
यस्तै, विश्वभर गरिब मुलुकमा चलिरहेका यूएसआईडी र अमेरिकी सहायता परियोजनामाथि पनि ट्रम्पले निशाना लगाएका छन्। सार्वभौम देशमाथि आक्रमण गरेर विश्वबाट एक्लिएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग नजिकएर युद्ध रोक्ने ट्रम्पको प्रयास सफल हुने संकेत देखिएको छैन।
ट्रम्पले मंगलबार १०० दिन पूरा गर्दैगर्दा विश्व सेयर बजार धर्मराउँदो अवस्थामा छ भने खाडी मुलुक, इजरायल, प्यालेस्टाइन द्वन्द्व चरमोत्कर्षमा पुगेको छ। रुसी राष्ट्रपति पुटिनको युक्राइनी नागरिक मार्ने आतंककारी गतिविधि जारी छ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले के गर्न चाहेका हुन् वा अब गर्नुपर्ने आधारभूत काम के हुन् भन्न उनका केही कार्यकारी आदेश संकेत हुन् । उदाहरणका लागि, पहिलो दिन उनले ऊर्जा उत्पादन बढाउन ऊर्जा आपतकाल घोषणा गरे। अर्को वर्षसम्म यसको कुनै परिणाम देखिने छैन। उनले मतदातालाई विद्युत् खपतको बिल धेरै घट्ने आश्वासन दिएका थिए। तर, बिल घट्ने छाँट छैन।
ट्रम्पको आफ्नो आदेश र कार्यहरू कानुनी रूपमा सही छन् वा छैनन् भन्ने प्रश्न अझै अनुत्तरित छन्। उनका केही आदेशविरुद्ध मुद्दा चलिरहेका छन्। अतः उनले गरेका धेरै काम अदालतले उल्टाइदिन सक्छ।
कति पूरा, कति अपूरा ट्रम्प वाचा
अवैध आप्रवासनमा कडाइ
ट्रम्पले सीमा नियन्त्रण गर्ने आफ्नो प्रमुख वाचामा प्रगति हासिल गरेका छन्। मेक्सिकोबाट अमेरिकामा अवैध रूपमा प्रवेश गर्न खोज्ने व्यक्तिको संख्या राष्ट्रपति जो बाइडेन भएको अन्तिम वर्षमा ठूलो मात्रामा घटेको थियो। डिसेम्बर २०२३ मा दुई लाख ४९ हजार ७४० बाट घटेर डिसेम्बर २०२४ मा ४७ हजार ३२४ पुगेको थियो।
ट्रम्पको कार्यकालमा यो संख्या झन् घटेर फेब्रुअरीमा आठ हजार ३४६ र मार्चमा सात हजार १८१ सम्म झरेको छ।
आप्रवासन र भन्सार निकायले देशभरबाट धेरै व्यक्तिलाई पक्राउ गरिरहेको छ । अमेरिकाबाट धेरै निर्दोष व्यक्तिलाई कानुनी प्रक्रिया पूरा नभएकै अवस्थामा देश फिर्ता गरिएका छन्।
मूल्य घटाउने
अमेरिकामा सन् २०२२ मा मुद्रास्फीति ९.१ प्रतिशतको उच्चतम अवस्थाबाट घट्दै गएको छ। जनवरीमा ट्रम्पले पदभार ग्रहण गर्दा यो तीन प्रतिशतमा झरेको थियो र मार्चसम्म मुद्रास्फीति घटेर २.४ प्रतिशत पुगेको छ। तर, अमेरिकी फेडरल रिजर्भले राष्ट्रपतिको आयात कर योजनाले विदेशी आयातमा कर लागेर मूल्य वृद्धि गराउने चेतावनी दिएको छ।
ट्रम्पले भनेजस्तो सबै ऋण तिर्न सक्ने सम्भावना न्यून छ। उनको कर कटौती योजनाले देशको ऋण तिर्न चाहिने राजस्व बढ्ने छैन। उनले २०१६ मा पनि यस्तै वाचा गरेका भए पनि पहिलो राष्ट्रपतिकालमा राष्ट्रिय ऋण झन्डै दोब्बर भएको थियो।
ऊर्जा बिल घटाउने वाचा
ट्रम्पले चुनाव अभियानका बेला मतदातालाई १२ देखि १८ महिनाभित्र ऊर्जा खर्च आधादेखि तीन चौथाइसम्म घटाउने प्रतिज्ञा गरेका थिए । उनले चुनावी र्यालीमा ऊर्जा र बिजुलीको मूल्य आधा घटाउने वाचा गरे पनि अहिलेसम्म घटेकाे छैन।
आयात कर
ट्रम्पले आफ्नो आयात करप्रतिको रुचि र अन्तर्राष्ट्रिय व्यापारमा अन्य देशले अमेरिकालाई ठगेको कुरालाई कहिल्यै लुकाएनन्।चुनावताका उनले भनेका थिए, ‘म विदेशमा उत्पादन गरिएका धेरैजसो सामानमा सामान्य आयात कर लगाउनेछु।’ उनले यसलाई कार्यान्वयन गरे। तर, यसका सर्तलाई बारम्बार परिवर्तन गरिरहेका छन्।
ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा आयात कर बढाएर कार्यकाल सुरु गरे। यसमा मुख्यतः अमेरिकामा फेन्टानिल प्रवेश गर्न दिएको भन्ने सजायको रूपमा। त्यसपछि अप्रिल २ मा मुक्ति दिवस भन्दै उनले विदेशी आयातमा अझ व्यापक कर लगाए । ट्रम्पले यो योजना केही फिर्ता लिँदै वार्ता गर्ने निर्णय गरे। चीनविरुद्ध भने १४५ प्रतिशतसम्मको आयात कर कायमै राखे।
यी आयात करले स्टक बजार उथलपुथलमा।
युद्ध अन्त्य गर्ने वाचामा असफल
गत वर्षको चुनावताका ट्रम्पले चुनाव जितेलगत्तै रुस र युक्रेनबीच युद्ध अन्त्य गरी शान्ति ल्याउने वाचा गरेका थिए। अगस्तमा डेट्रोइटमा भएको राष्ट्रिय गार्ड एसोसिएसन सम्मेलनमा उनले भनेका थिए, ‘म ओभल अफिसमा पुग्नुभन्दा अगाडि नै, चुनाव जितेको केही समयपछि रुस र युक्रेनबीचको युद्ध समाधान गरिसक्नेछु। तर, तीन महिना नाघ्दा पनि युद्ध राेकिन संकेत देखिन्न।
शिक्षाका आधारभूत स्तम्भमाथि हमला
ट्रम्पले शिक्षण संस्थानलाई करको करोडौं डलर रोक्ने धम्की दिएका छन्। अन्य प्रमुख विश्वविद्यालयले ट्रम्पको माग पूरा गर्न इच्छुक भए पनि हार्वर्डले टेरेन। यसको प्रतिक्रियामा ट्रम्पले हार्वर्डको करमुक्त दर्जा रद्द गर्न, विदेशी विद्यार्थीको भर्ना रोक्ने धम्की दिएका छन्। २ अर्ब डलर बढीको अनुदान र सम्झौता राेकेका छन्।
ट्रम्प प्रशासनले अन्य विश्वविद्यालयलाई पनि निशाना बनाइरहेको छ। देशभरका विश्वविद्यालयमा धेरै विदेशी विद्यार्थीको कानुनी आधार अस्थायी रूपमा समाप्त गरिएको छ ।
संस्कृतिका आधारस्तम्भ पनि निशानामा
बाइडेनकालीन विविधता, समानता र समावेशीता कार्यक्रम रोकिएका छन्। संघीय सञ्चारमा विविधताको सन्दर्भ हटाइएका छन्।
ट्रान्सजेन्डर अधिकारलाई पूर्वावस्थामा फर्काउने वाचा
ट्रम्पले खेलकुदमा ट्रान्सजेन्डर खेलाडीको सहभागिता र समाजमा लैंगिक पहिचान नभएको विचारलाई स्वीकार गर्ने प्रयासविरुद्ध चुनाव अभियान चलाए । उनले ‘ट्रान्सजेन्डर पागलपन’ विरुद्ध लिने प्रतिज्ञा गरे।
राष्ट्रपतिको रूपमा उनले महिला टोलीबाट ट्रान्सजेन्डर खेलाडीलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। सेनाबाट ट्रान्सजेन्डर सैनिक हटाउने प्रयास रोकेका उनले तल्ला अदालतविरुद्ध सर्वोच्च अदालतबाट फैसला गर्न पनि अनुरोध गरेका छन्।
डगको मनपरी
गत वर्ष एलन मस्कलाई सरकारी कार्यदक्षता विभाग डगको मुख्य बनाइएकाे छ। मस्कले संघीय कर्मचारी घटाउने जिम्मेवारी लिए। मस्क डोज प्रमुख हुँदा उनको टेस्ला व्यापार भने ध्वस्त भएको छ।
मस्कले केही सहयोगीलाई साथ लिएर ट्रम्प प्रशासनको लागि प्रत्यक्ष रूपमा काम गरेका छन्। संघीय एजेन्सीमा उनका समर्थक बसेर संवेदनशील डाटामाथि पहुँच राख्ने, पेशेवर अधिकारीसँग प्रश्न गर्ने र कटौतीको लागि दबाब दिन थालेका छन्।मस्कले सरकारी खर्चमा आफ्नो लक्षित बचत १ खर्ब डलरबाट घटाएर १५० अर्ब डलरमा पुर्याए। तर, यसबाट महत्त्वपूर्ण भनिएजस्तो संघीय खर्चमा बचत हुन सकेको छैन ।
जनवरी ६ का आक्रमणकारीलाई क्षमादान
ट्रम्प समर्थकको हिंसात्मक समूहले २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा आक्रमण गरेपछि ट्रम्पले यसलाई घृणित आक्रमण भनेर निन्दा गरे। तर, उनको बयान चाँडै बदलियो। चुनाव अभियानमा ट्रम्पले दंगाकारीलाई देशभक्त र न्याय प्रणालीका बन्धक भनेर सम्मान गरे भने प्रहरी अधिकारीमाथि आक्रमण गर्नेलगायत करिब एक हजार ५०० जनालाई क्षमादान दिए।
ट्रम्प उथलपुथल भइरहँदा कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको सञ्चार माध्यमले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाबारेमा चिन्ता व्यक्त गरिएका बेला मंगलबार प्रकाशित सर्वेक्षण तथ्यांकअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो।
‘अमेरिकी उपभोक्ता विश्वास सूचकांक अप्रिलमा ७.९ अंकले घटेर ८६.० मा झरेको छ’, कन्फरेन्स बोर्डले उपभोक्ता विश्वास सूचकांकलाई उद्धृत गर्दै जानकारी गराएको छ। यो सन् २०२० को मेयताकै सबैभन्दा कम भएको एक प्रवक्ताले सञ्चार माध्यमलाई भनेका छन्।
राष्ट्रपति ट्रम्पको कर योजनाले लगानीकर्तालाई निरास बनाएको छ, जसले बजारको अस्थिरतालाई बढावा दिएको छ र उपभोक्ताको विश्वासमा गिरावट आएको छ। ४८.५ प्रतिशत उपभोक्ताले आगामी १२ महिना सेयरको मूल्य घट्ने अपेक्षा गरेका छन्, जुन २०११ अक्टोबरपछिको सबैभन्दा उच्च हिस्सा हो।-एजेन्सी