काठमाडौं। बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन भनिने संघीय संसद्का दुवै सदनमा आजदेखि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ।
आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुन लागेको हो। दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आसन ग्रहण गरिसक्न र निर्धारित पोसाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन्।
बुधबारको मन्त्रिपरिषद् बैठक र सत्ता गठबन्धन दलको बालुवाटार बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरिसकेको छ।
राजनीतिक दलबीच अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ।
यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ।
संसद् सचिवालयले वैशाख २२ देखि २८ सम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ।
यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ। प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ।
संविधानअनुसार आगामी जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ।