काठमाडौं। सरकारी नीतिका कारण चर्को भन्सार शुल्क तिर्न परेका कारण महंगो हुँदै आएको प्लग–इन–हाइब्रिड पछिल्लो समय उपभोक्ताको रोजाईमा परिरहेको छ। विद्युतीय सवारी साधान (ईभी)को दबदबाबीच पनि हाइब्रिड गाडी खोजी गर्नेहरुको संख्या बढेसँगै हाइब्रिड गाडी आयात गर्ने तयारीमा कम्पनीहरु लागिरहेका हुन्।
सारडा ग्रुपका प्रबन्ध निर्देशक गौरभ सारडाले विद्युतीयसँगै हाइब्रिड गाडीको माग बढ्न थालेको बताए। ‘नेपालका लागि उपयुक्त सवारी साधान हाइब्रिड नै हो,’ उनले भने, ‘उपभोक्ताहरु पनि अहिले सचेत भएर हाइब्रिड खरिदमा चासो देखाइरहेकाले हामीले पनि ल्याउन थालेका हौँ।’
सारडा ग्रुपले अहिले ल्याउन लागेको हाइब्रिड गाडी एक पटक फुल ट्याङकी तेल र एक फुल चार्ज गर्दा एक हजार २०० देखि एक हजार ४०० किलोमिटरसम्म यात्रा गर्न सकिने खालको रहेको छ। यो भनेको काठमाडौंका लागि झण्डै २ देखि ३ महिनासम्म पेट्रोल पम्पमा धाउनु पर्दैन।
विद्युतीय सुविधा हुँदा चार्ज सकिने तनाव लिएर हिड्नुपर्ने बाध्यता रहेका कारणले पनि विद्युत र इन्धनबाट चल्ने एक मात्र विकल्प हाइब्रिड रहेको व्यवसायीहरुको भनाइ छ। उपभोक्ताहरुले विद्युतीय र आइसी इञ्जिनको गाडीको विकल्पमा हाइब्रिडलाई राख्न थालेका छन्।
माग बढेसँगै विभिन्न कम्पनीहरुले हाइब्रिड गाडी नेपाल ल्याउने तयारी थालेका छन्। हाल नेपालमा टोयोटा, सुबारु, किया र निसानको हाइब्रिड गाडीहरु उपलब्ध छन्। अब अन्य कम्पनीहरुले पनि हाइब्रिड गाडी ल्याउने तयारी थालेका छन्।
नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले यसअघि बिवाईडी ‘हाइटेक वीक’ आयोजना गरी हाइब्रिड सार्क प्रदर्शनी गरेको थियो।
विद्युतीय गाडीसँगै हाइब्रिडको खोजी गर्नेहरुको संख्या बढ्न थालेको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठको भनाइ छ।
नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले यसअघि बिवाईडी ‘हाइटेक वीक’ आयोजना गरी हाइब्रिड सार्क प्रदर्शनी गरेको थियो। ईभी गाडी मात्र बिक्री गर्दै आएको साइमेक्स इंकले ‘हाइटेक वीक’मा प्लगइन हाइब्रिड मोडल पनि देखाएको थियो। उक्त प्रदर्शनीमा राखेको बिवाईडीको अफरोड पीकअप ट्रक सार्क नेपाल ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ। बिवाईडीले प्रदर्शनीमा राखिएको सार्क ६ नयाँ पुस्ताको पिकअप ट्रक हो।
विभिन्न कम्पनीहरुले पनि प्लग–इन–हाइब्रिड गाडीमा लगानी बढाउँदै लगेका छन्। चीनको सांघाईमा आयोजना भएको ‘सांघाई अटो शो २०२५’ मा पनि धेरै ईभी गाडी उत्पादक कम्पनीहरुले हाइब्रिड गाडी प्रदर्शनी गरेका थिए। नेपाली बजारमा अधिकांश गाडी चीनबाट आयात हुने भएकाले चिनियाँ बजारमा आएका गाडीहरु नेपाल आउने निश्चित छ।
बढ्दै हाइब्रिड गाडीको आयात
पछिल्लो समय प्लग–इन–हाइब्रिड गाडीको आयात बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५१ युनिट हाइब्रिड गाडीको आयात भएको छ। २१ करोड ९१ लाख १० हजार रुपैयाँ बराबरको गाडी भित्रिएको हो। उक्त आयातबाट सरकारले ५२ करोड ४४ लाख २१ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा १० करोड ४४ लाख ७१ हजार रुपैयाँ बरारबको २१ युनिट प्लग–इन–हाइब्रिड गाडी आयात भएको तथ्यांक भन्सार विभागमा छ। उक्त आयातबाट सरकारले २५ करोड ४२ लाख ४६ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष ७९/८० मा १९ करोड ९९ लाख ८४ हजार रुपैयाँ बरारबको ४८ युनिट गाडी आयात भएको थियो। उक्त आयतबाट सरकारले ३६ करोड ११ लाख ३४ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
नेपालमा हाइब्रिड गाडीमा पनि डिजेल पेट्रोल गाडीको जस्तै दरमा कर लगाइन्छ। जसले गर्दा तिनिहरु विद्युतीय सवारीसाधन भन्दा धेरै महंगो पर्ने गरेका छन्।
आर्थिक वर्ष २०७८/७९ मा २० करोड २८ लाख ९८ हजार रुपैयाँ बराबरको २५ युनिट हाइब्रिड गाडी नेपालमा आयात भएको थियो। उक्त आयातबाट सरकारले ३७ करोड ४८ लाख ७६ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
आर्थिक वर्ष २०७७/७८ मा ११ करोड १३ लाख ७७ हजार रुपैयाँ बराबरको १३ युनिट हाइब्रिड गाडी नेपालामा आयात भएको थियो। उक्त आयातबाट सरकारले २५ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
पछिल्लो पाँच वर्षको हाइब्रिड गाडीको आयात

के छ नेपालका लागि हाइब्रिड गाडीको मापदण्ड?
नेपालमा हाइब्रिड गाडीमा पनि डिजेल पेट्रोल गाडीको जस्तै दरमा कर लगाइन्छ। जसले गर्दा तिनिहरु विद्युतीय सवारीसाधन भन्दा धेरै महंगो पर्ने गरेका छन्। नेपालमा, हाइब्रिड कारहरूलाई सामान्यतया पेट्रोल कारहरू जस्तै कर दायराअन्तर्गत मानिन्छ। जसले गर्दा ८० प्रतिशतको उच्च आयात शुल्क लाग्छ।
सरकारले विद्युतीय गाडीलाई अपनाउन भन्सार छुट दिएको छ। तर, हाइब्रिडहरूलाई विशेष रूपमा समान प्रोत्साहनहरू लक्षित गरिएको छैन। यो नीतिले हाइब्रिड कारहरूको आयात र खरिदलाई निरुत्साहित गरिरहेको व्यवसायीको भनाइ छ।