काठमाडाैं। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको आव २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकमा उल्लेख्य वृद्धि भएको देखिएको छ।
कम्पनीले चालू आव चैतसम्म १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो । गत आवको असारको तुलनामा चालु आवको चैतसम्ममा कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म अधिकांश सूचकमा वृद्धि गरेको छ। चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ।
यसअघि चालू आवको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो। गत आवको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा थियो। त्यसपछि चालू आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्म२५ रुपैयाँ ४९ पैसा कायम भएको हो।
चालू आवको तेस्रो त्रैमाससम्म रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ। गत आव असारसम्म कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो। कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ।
चालू आवको चैतसम्ममा कम्पनीको कर तिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
२०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेडले स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ। उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत मुलुकमा निर्यात गर्दै आएको छ।
सुनसरीमा रहेको उद्योगले ऊन (उल) धागो, सुती (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ। कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा छ।
कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोगसमेत गर्दै आइरहेको छ। आफ्नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो । रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत उत्पादन गरिरहेको छ।
विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको हो।
