कञ्चनपुर। पुनर्वास नगरपालिका–३ की वसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन। केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन्।
वसन्तीले महिनामै ६० हजार बढीको कारोबार गर्छिन्। खर्च कटाएर ३० हजारसम्म आम्दानी हुने गरेको छ। विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नुपर्यो।
बेरोजगार भइन् तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच भए पनि लगानीका लागि पैसा थिएन। भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो। त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन्।
फेरि ऋण लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्विविधा भयो। त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको।
‘इन्टरनेट चलाउँथे। विभिन्न व्यवसाय गरिरहेका व्यक्तिबारे र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें। केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो। त्यही कार्य गर्ने निक्र्योल गरी व्यवसाय सुरु गरेँ’, चन्दले भनिन्।
१ लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाखको सामान थपेकी छन्। युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन्।
ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, संघसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन्।
बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन्। भविष्यका लागि भनेर उनले मासिक आठ हजार जति सहकारीमै बचत गर्दै आएकी छन्।
‘घरको खर्च पसलकै कमाइले धानिएको छ। छोरीलाई पसलकै कमाइबाटै पढाउन थालेकी छु’, चन्दले भनिन्।–रासस