काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर असुली निराशाजनक भएकामा असन्तुष्टि जनाएका छन्।
शनिबार राष्ट्रिय कर दिवस अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कर असुली कम हुँदा सरकारको अनिवार्य दायित्व भुक्तानी, विकास निर्माणलगायतमा असर पुगिरेहको बताए।
लक्षित राजस्व संकलन गर्न नसक्नुमा कर अधिकृतको कार्यसम्पादनमाथि प्रश्न शंका उब्जिएको उनको भनाइ छ।
अघिल्लो आर्थिक वर्षसँग तलुना गर्दा पनि कर कार्यालयको कार्यसम्पादन कमजोर देखिएको अर्थमन्त्री पौडेलले औंल्याए। उनले भने, ‘अहिले असमान्य अवस्थामा छौं। यसलाई सामान्य गरेर मात्रै पुग्दैन। कर्मचारीले सोहीअनुसार काम गरिदिनुपर्छ।
‘सरकारको खर्च बढ्ने तर कर संकलनको स्थिति कमजोर भएको छ। यसलाई सुधार्नुपर्छ। करदातालाई कर प्रशासन सधैं प्रोत्साहन गर्ने खाले हुनुपर्छ।। करदातालाई कर सहभागिता बढाउन तथा कर तिर्नु विषय गौरवका रुपमा बुझ्न आग्रह गर्छु’।
उनले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताए।
कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ।
अर्थमन्त्रीले करको दायरा बिस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेकामा जोड दिए।
उनले कार्यप्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिए।
संघीयताले आर्थिक केन्द्र विस्तार, खर्चका युनिट एवं आर्थिक गतिविधि विस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गए पनि सो अनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्नेमा त्यसो नभएकाले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन कर्मचारीलाई निर्देशन दिए।
यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने १६ करदाता
सबैभन्दा बढी आयकर तिर्नेः नेपाल टेलिकम
एकलौटी फर्मः सुर्ती ट्रेडर्स
सूचना प्रविधिः कोडावतार टेक प्रालि
निर्यात कारोबारः डाबर नेपाल प्रालि
कृषि एवं पशुजन्यः पतञ्जली आयुर्वेद प्रालि
बैंक तथा वित्तीय संस्थाः नबिल बैंक लिमिटेड
स्वास्थ तथा शिक्षाः लुम्बिनी मेडिकल कलेज
पर्यटनः तारागाउँ रिजेन्सी
वस्तु व्यापारः भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाताः सिडियस एन्ड क्लियरिङ
ऊर्जाः भोटेकोसी पावर कम्पनी
रेमिट्यान्स: सिटी एक्सप्रेस
व्यक्तिगत आयकर: राजबहादुर साह
मूअक तिर्नेः होङ्सी सिमेन्ट
५० करोड धेरै कारोबार गर्नेः सोल्टी होटेल
विशेष उद्योगः वरुण वेभरेज
