काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको ह्याकथन कार्यक्रम सम्पन्न भएको छ। बैंकले सञ्चालन गरेको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धि ह्याकाथन कार्यक्रम सम्पन्न भएको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो।
यस प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरीएको थियो। प्रतियोगि टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगञ्ज, काभ्रे, धरानबाट सहभागि भएका थिए।
सहभागि टोलीहरुमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप १ लाख जित्न सफल भएको छ। डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन्।
दोस्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमश टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन्। साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ।
प्रतियोगिताका विजेता टोलीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे।
नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए।
यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नविनतम् प्रविधीको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम् सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए। यस प्रतियोगिताको उत्कृष्ट टोलीहरुलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत उनले बताए।