काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुलाएको छ। नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को स्टल बुकिङ खुलाएको हो।
नाइमाले वैशाख २२ देखि औपचारिक रुपमा स्टल बुकिङ खुला गराएको हो। इच्छुक व्यक्ति/कम्पनीहरूले आफूले चाहेको स्टल लिनका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जनाएको छ।
मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ। नाइमाका अनुसार काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलाप्रथाबाट गरिने छ।
उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ।
मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।
नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पोले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको बताइन्।
‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ अध्यक्ष वैद्यले भनिन् ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं।’