काठमाडौं। पछिल्लो केही वर्षयता विद्युतीय सवारी(ईभी) को कर बजेटमा निरन्तर रुपमा बढिरहेको छ। ईभी आयातमा लचकता देखाएको सरकारले पछिल्ला वर्षमा बजेटमार्फत कर बढाउँदै लगिरहँदा बिक्रेताले त्यसैलाई उत्सवको रुपमा लिँदै गाडी बेच्न विभिन्न अफर सार्वजनिक गर्ने होड चलेकाे छन्।
चालू वर्षको बजेटअघि व्यवसायीले अर्को आर्थिक वर्षको बजेटमा कर बढ्ने भन्दै गाडीको मूल्य बढ्ने त्रास उपभोक्तालाई देखाएर बेचिरहेको पाइएको हो।
उपभोक्तालाई कर बढ्ने प्रक्षेपण गराउँदै विभिन्न अफर दिएर गाडी बेचिरहँदासमेत सरोकारवाला निकाय मौन रहँदै आएका छन्। साेही कारण गाडी बिक्रेताको मनोमानी बढिरहेको छ भने उपभोक्ता सामाजिक त्रासमा रहेका छन्।
कर बढ्ने वा नबढ्ने निश्चित नभइसकेको अवस्थामा प्रि–बजेट अफर सार्वजनिक गरेर ग्राहकलाई त्रासमा पारेर व्यापार गरिरहेको ती व्यवसायी बताउँछन्।
‘यदि सरकारले बजेटमा कर बढाएन वा भएको करसमेत घटाइदियो भने प्रि–बजेट अफरमा गाडी किनेकाको स्थिति के होला,’ ती व्यवसायीले भने, ‘हाम्रै व्यवसायी साथीहरुले गाडी बेच्ने नाममा उपभोक्तालाई उल्लु बनाइराख्नुभएको छ। यो राम्रो हैन।’
अहिले विभिन्न कम्पनीले ८० प्रतिशतसम्मको फाइनान्स सुविधा, नगद छुट, फ्रि रोड ट्याक्सलगायत ग्राहक लक्षित प्रि–बजेट अफर सार्वजनिक गरेका हुन्।
अफरअन्तर्गत गाडीको प्रारम्भिक मूल्यको केवल २० प्रतिशत डाउन पेमेन्टमै खरिद गर्न सकिनेछ भने बैंक तथा वित्तीय संस्थाहरूमार्फत सहज किस्ताबन्दीको सुविधा पनि उपलब्ध गराइएको छ।
विशेषतः हरेक वर्ष वैशाख लागेपछि भन्सार नाकामा ईभीको चाप झनै बढ्ने गर्छ। बजेटमा कर बढ्ने चिन्ताका साथ व्यवसायीले बजेट अगाडि नै गाडी स्टकमा राख्ने गर्छन् भने ग्राहक लक्षित विभिन्न खाले अफर सार्वजनिक गरेको पाइन्छ।
ग्राहक लक्षित नयाँ वर्षदेखि प्रि–बजेटसम्मका लागि २० प्रतिशत डाउन पेमेन्टमा आमोडा/जेक्को गाडी खरिद गर्न सकिने अफर दिएको एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक ज्ञानेन्द्रबहादुर चन्दले बताए। ‘कम्पनीले ग्राहक लक्षित गरी ल्याएको अफर बजेट अघिसम्म रहनेछ। प्रि–बजेट अफर अवधिभर ग्राहकले ५ लाख १५ हजार रुपैयाँसम्मको फाइदा पाउने छन्,’ चन्दले भने।
एक्सपेङ गाडीको स्किम

नेपालका लागि एक्सपेङ गाडीको आधिकारिक वितरक सिजी मोटर्सले प्रि–बजेट अफर ल्याएको छ। अफरमार्फत एक्सपेङ खरिद गर्ने ग्राहकले १४.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा गाडी पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार किस्ताबन्दीमा ग्राहकले वार्षिक ६.५५ प्रतिशत मात्रै ब्याजदर तिर्नुपर्नेछ। प्रि–बजेट अफरअन्तर्गत एक्सपेङ खरिद गर्ने ग्राहकले नगद छुट, ७ किलोवाटको चार्जर, फ्रि इन्स्योरेन्स, एक वर्षको फ्रि रोड ट्याक्स पाउनेछन्।
सेरेस गाडीको स्किम

नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘प्रि–बजेट ब्यास’ अफर ल्याएको छ। कम्पनीले सेरेस ईभी ८.९९ लाख रुपैयाँमा उपलब्ध गराउनेछ। सेरेससोरुममा यो अफर लागू भएको कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ग्राहकले नयाँ ईभी गाडी टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने सुविधा पाउने कम्पनीले जनाएको छ। यसको अतिरिक्त उपभोक्ताले सेरेसमा २ लाख रुपैयाँसम्मको विशेष अफरसमेत प्राप्त गर्न सक्छन्।
नामीको स्किम
नेपालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले बिक्री गर्दै आएको नामीमा प्रि–बजेट ब्यास अफर ल्याएको छ। नामी गाडी ५.९९ लाख रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
नामीमा अधिकतम एक लाख रुपैयाँसम्म र सेरेसमा २ लाखसम्मको विशेष अफरसमेत प्राप्त गर्न सकिनेछ। यो अफर नामीका हरेक सोरुममा लागू हुने कम्पनीले जनाएको छ। नामीमा उपभोक्ताले एक लाख रुपैयाँसम्मको विशेष छुट पाउनेछन्।
डिपलको लागि स्किम

नेपालका लागि डिपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले प्रि-बजेट अफर ल्याएको छ। प्रि–बजेट अफरमार्फत ग्राहकले नगद छुट र एक्सचेञ्ज बोनस पाउने कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा सुविधा पनि पाउनेछन्। साथै, ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनेछन्।
यसका अलावा कम्पनीले २० प्रतिशत डाउन पेमेन्टमै गाडी खरिद गर्न सकिने बताएको छ। फाइनान्स सुविधामा ब्याजदर ८.९९ प्रतिशत छ।
ओमोडा/जेक्को

नेपालका लागि ओमोडा/जेक्को गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले न्यूनतम १० लाख ३९ हजार रुपैयाँ डाउन पेमेन्टमा गाडी किन्न सकिने प्रि–बजेट अफर ल्याएको छ।
कम्पनीका अनुसार ग्राहले २० प्रतिशत डाउन पेमेन्टमा ओमोडा/जेक्को ईभी खरिद गर्न सकिने बताएको छ। किस्ताबन्दीमा ग्राहकले वार्षिक ८.०५ प्रतिशत मात्रै ब्याजदर तिर्नुपर्नेछ।
प्रि–बजेट अफर अवधिभर ग्राहकले ५ लाख १५ हजार रुपैयाँसम्मको फाइदा पाउनेछन्। साथै, १ वर्षको इन्स्योरेन्स, मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी, १ वर्षको रोड ट्याक्स फ्री, एक्सचेन्ज बोनस र ७ किलोवाटको चार्जर पाउनेछन्।