काठमाडौं। सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८२/८३ को सिद्धान्त र प्राथमिकता विधेयकमा खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिइएको हो।
सो विधेयकमा कृषि क्षेत्रको समग्र ‘इकोसिष्टम’लाई प्रभावकारी बनाउँदै व्यावसायिक खेतीलाई विशेष प्रोत्साहन गरिने छ। ‘कृषि क्षेत्रलाई यान्त्रिकीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।’ सो विधेयकमा उल्लेख छ।
यस्तै, कृषि फार्ममार्फत् व्यावसायिक खेती प्रवद्र्धन गर्न विशेष प्रोत्साहन गरिनुका साथै सामुहिक तथा करार खेती प्रणालीलाई सहजीकरण गर्दै युवालाई कृषिमा आकर्षित गर्न नीतिगत व्यवस्था मिलाइने छ।
कृषिमा प्रदान गरिँदै आएका सबै प्रकारका अनुदानको पुनरावलोकन गरी उत्पादनमा आधारित बनाइनुका साथै, प्राङ्गारिक तथा रैथाने खेतीलाई प्रोत्साहित गरिने सरकारको नीति छ। कृषि उपजको थोक बजार विकास,सुरक्षित भण्डारण र विषादी परिक्षण गरी स्वस्थकर उत्पादनमात्र बजारमा बिक्री वितरण हुने व्यवस्था मिलाइने उल्लेख छ।
उच्च मूल्यका नगदेबाली उत्पादन गर्न प्रोत्साहन गरिनुसका साथै सिँचाई आयोजनाको निर्माण र परम्परागत सिँचाई प्रणालीको पुनस्र्थापना गरी सिञ्चित क्षेत्र विस्तार गरिनेछ।
यस्तै, रासायनिक मलको सहज आपूर्ति व्यवस्था र प्राङ्गारिक मलको उत्पादनलाई प्रोत्साहितगरि गुणस्तरीय बिउ तथा प्राविधिक सेवा उपलब्ध हुने व्यवस्था मिलाइने सरकारको योजना छ।
आधुनिक र प्रविधिमा आधारित खेती प्रणाली अवलम्बन गर्न प्रोत्साहन र व्यावसायिक खेतीका लागि वित्तीय पहुँचमा सहजता ल्याइने छ। पशुपन्छीजन्य उत्पादन वृद्धिका लागि नश्ल सुधार र बजार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिन सरकारको प्राथमिकता छ।