काठमाडौं। विदेशबाट आयात हुँदै आएको लिड एसिड ब्याट्री विस्थापन गर्ने उद्देश्यसहित एसटीसी ग्रुपले हेटौंडामा उत्पादन सुरु गरेको छ। अटोमोटिभ, ट्युबलर र ई–रिक्सामा प्रयोग हुने अधिकाशं ब्याट्री भारत र चीनबाट आयात भइरहेका बेला एसटीसी ग्रुपले घरेलु उत्पादन सुरु गरेको हो।
२१ रोपनी जग्गामा बनेको उद्योगमा ब्याट्री उत्पादन गर्न एसटिसी ग्रुपले ५० करोड बढी लगानी गरेको कम्पनीका प्रबन्ध निर्देशक सरेन्द्रकुमार उप्रेतीले बताए।
‘पाँच वर्ष अगाडि खुलेको कम्पनीमा हालसम्म ५० करोड बढी लगानी भइसक्यो,’ प्रबन्ध निर्देशक उप्रेतीले भने, ‘नयाँ टेक्नोलोजीमा पर्ने भीआरएलए टेक्नोलोजीको कारण यसले विश्वका कुनै पनि देशमा उत्पादन भएको लिड एसिड ब्याट्रीसँग प्रतिस्पर्धा गर्न सक्नेछ।’
कम्पनीले प्रत्येक महिना २५ हजार ब्याट्री उत्पादन गरिरहेको छ। कम्पनीको पूर्ण उत्पादन क्षमता वार्षिक १८ लाख युनिट भए पनि हालसम्म करिब ३ लाख मात्र ब्याट्री उत्पादन गरिरहेको हाे। यो वर्ष उत्पादनलाई कम्तीमा ५ लाख पुर्याउने लक्ष्य रहेको प्रबन्ध निर्देशक उप्रेतीले बताए।

कम्पनीले नेपालभरि नेटवर्क विस्तार गरिरहेको छ। हाल २०० बढी ठाउँमा कम्पनीको डिलर नेटवर्क पुगेको छ। नेपालभरि नै एसटिसी इनर्जिको ब्याट्री पाइने कम्पनीले जनाएको छ। तराईदेखि पहाडका सबै ठाउँमा एसटिसी इनर्जीले उत्पादन गरेको ब्याट्री पाउन सकिन्छ।
एसटिसी इनर्जीमा चल्ने मेसिन भारत र चीनबाट आउने गरेको छ। विशेष खाल मेसिन जापानबाट आउने गरेको उनको भनाइ छ।
ब्याट्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ ८० प्रतिशत नेपाली नै प्रयोग हुन्छ भने २० प्रतिशत बाहिरबाट आयात हुने कम्पनीले जनाएको छ। २० प्रतिशत कच्चा पदार्थमा ब्याट्री प्याक गर्ने कन्टेनर बाहिरबाटै ल्याइरहेको छ। नेपालमै उत्पादन गर्नुभन्दा बाहिरबाट ल्याउँदा बढी फाइदा हुने भएकाले कन्टेनर नेपाल बाहिर किन्ने गरिएको कम्पनीको भनाइ छ।
दुईपांग्रे ब्याट्रीमार्फत उत्पादन यात्रा थालेको उद्योगले अहिले अटोमोटिभ, ई–रिक्सा र इन्भर्टर ब्याट्री समेत बजारमा ल्याइसकेको छ। ग्रुपले उत्पादन गरेको दुई ब्रान्डरु एसटिसी राइड र एसटीसी इनर्जी नामक ब्याट्री हाल उद्योगबाट बजारमा गइरहेको छ।
बाहिरी कम्पनीसरह वारेन्टी, मूल्य कम
उद्योगबाट उत्पादन हुने ब्याट्रीले भारतबाट गुणस्तरको मापदण्डसमेत प्राप्त गरिसकेको छ। भारतको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड(बिआइएस) र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डिया(एआएआई)बाट गुणस्तर प्रमाणपत्र पाइसकेको प्रबन्ध निर्देशक उप्रेतीले बताए।
‘कम्पनीले दुईपांग्रे र चारपांग्रे सवारीको ब्याट्रीमा ३६ महिना वारेन्टी दिइरहेकोमा इन्भर्टरमा ४८ महिनादेखि अधिकतम ६० महिनाको ग्यारेन्टी दिइरहेको छ भने रिक्सामा १२ महिनाको वारेन्टी दिइरहेको छ,’ उनले भने।
सबै किसिमका सवारीसाधन र इन्भर्टरमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको कम्पनीले ब्याट्री वारेन्टी अवधिमा कुनै समस्या देखापरेमा ब्याट्री रिप्लेसमेन्ट गरिदिन्छ।

‘ब्याट्रीको वारेन्टी क्लेममा देखिने समस्यालाई सम्बाेधन गर्न कम्पनीले अन द स्पट रिप्लेसमेन्ट सेवा दिँदै आएको छ। साेही कारण वारेन्टी अवधिअगावै ब्याट्रीमा कुनै समस्या आउँदा ग्राहकले तत्कालै अर्को नयाँ ब्याट्री पाउँछन्। प्रोराटाको नाममा ग्राहक झुक्याइँदा अन्य कम्पनीले जस्तो हामीले प्रोराटा बसिसमा सर्भिस वारेन्टी दिने गरेका छैनौं। समस्या आउने बित्तिकै नयाँ ब्याट्री दिइहाल्छौं,’ उप्रेतीले भने।
कन्टेनर क्याप बाहिरबाट आयात हुने गरेको उनले बताए। ‘आयात गर्ने कुनै पनि वस्तु भारतीयसँग हेर्दा वारेन्टी, ग्यारेन्टी र पर्फर्मेन्समा मूल्यसहित शतप्रतिशत वारेन्टी दिन्छाैं। उसले जति महिनाको ग्यारेन्टी दिएको छ, त्यति नै ग्यारेन्टी हामीले पनि दिने गरेका छौं। मूल्यलाई हेर्ने हो भने नाम चलेका बाहिर कम्पनीलाई हेर्दा ४० देखि ६० प्रतिशत सस्तोमा ब्याट्री दिने गरेका छन्,’उप्रेतीले भने।
ब्याट्री उत्पादनपछि गुणस्तर परीक्षण अटोनोमस प्रविधिबाट हुने भएकाले उत्पादनमा डिफेक्ट एकदमै कम हुने गरेकाे उनी बताउँछन्। अहिले बजारमा प्रयोग भएका एसटीसी इनर्जीका ब्याट्रीमा औषत २.२ प्रतिशत मात्रै टेक्निकल समस्या देखिन्छ, जुन औषतभन्दा निकै कम भएको उप्रेतीको भनाइ छ।
ब्याट्री आयात पनि घट्दै
नेपालमै ब्याट्री उत्पादन प्लान्ट स्थापनाएपछि ब्याट्री आयात घट्दो क्रममा छ। नेपालमा अधिकांश ब्याट्री भारत र चीनबाट आयात हुने गरेकाे छ। भारतबाट आयात हुने ब्याट्रीले अटोमोटिभ, ट्युबलर र ई–रिक्सामा राम्रो पकड जमाएको छ भने टु ह्वीलरमा पछिल्लो समय चीनबाट राम्रै परिणाममा ब्याट्री आयात हुने गरेको छ।
यसरी आयात हुने ब्याट्रीलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादन प्रयोग बढाउन खोलिएको एसटिसी इनर्जीले मूल्य र गुणस्तरमा विशेष ध्यान दिएको छ। विगतमा नेपालमा प्रत्यके महिना २५ सय करोडको ब्याट्री आयात हुने गरेकामा अहिले १०० करोडको ब्याट्री आयात हुने गरेको उनको भनाइ छ।
अधिकांश जनशक्ति भारतीय
ब्याट्री उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ र मेसिन मात्र नभई उद्योगका लागि आवश्यक प्राविधिक जनशक्ति पनि अधिकांश भारतीय नै रहेकाे उप्रेतीले जानकारी दिए। सुरुवाती समय कम्पनीमा काम गर्ने सबै मानिस भारतीय थिए भने अहिले केही नेपाली कामदार पनि रहेका छन्।
विगतमा ११० जनासम्म जनशक्ति भएको कम्पनीमा हाल प्लान्ट अटो मेसनमा गएकाले ७५/७६ जना मात्र कामदार छन्। यीमध्ये प्राविधिक क्षेत्रमा काम गर्ने अधिकांश भारतीय छन् भने केही प्रशासनिक काममा नेपाली कामदार छन्। प्लान्टमा १४ जना इन्जिनियरसमेत छन्।अझै १०/१५ जना कामदार थप्ने र अब भने नेपालीहरुलाई पनि प्राविधिक पक्षको तालिम दिएर दक्ष बनाउने योजना कम्पनीको छ।
समस्या
प्रबन्ध निर्देशक उप्रेतीका अनुसार ब्याट्री उत्पादन लागि आवश्यक पर्ने २० प्रतिशत कच्चा पदार्थ बाहिरबाट आयात हुने गरेको छ। ब्याट्री प्याक कन्टेनर, एसिड, प्लस र माइनस आपसमा नजोडिने गरी प्याक गर्ने सामान बाहिरबाट आयात गरिँदै आएकाे छ भने त्यसबाहेकका अन्य अधिकांश कच्चा पदार्थ स्वदेशकै उपयोग गर्ने गरिएको छ। तर, कच्चा पदार्थ आयातका लागि प्रशासनिक केन्द्र, अन्तरनिकायबीच आवश्यक समन्वय नहुँदा समस्या हुने गरेको उनको भनाइ छ।

उनका अनुसार एसिड आयातका लागि गृह मन्त्रालयको सिफारिस चाहिन्छ। यसका लागि भन्सार विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि जोडिन्छन्। ‘अन्तरनिकायबीच समन्वय नहुँदा कच्चा पदार्थ आयातमा समस्या हुने गरेको छ। केही समय उद्योग नै बन्द गरेर बस्नुपर्ने स्थिति आयो’, उनले भने।
कच्चा पदार्थका लागि धेरै झन्झटिलो प्रक्रिया रहेको गुनासो उनकाे छ। ‘हामीले प्रतिवर्ष यति मात्रामा एसिट ल्याउँछौं भनेर अनुमानित विवरण गृह मन्त्रालयलाई पठाँउछौं। काम गर्दै जाँदा थप आयात गर्नुपर्ने अवस्था बन्यो भने अप्ठ्यारो हुने गरेको छ। भन्सार विभाग, उद्योग विभाग, गृह मन्त्रालय धाउँदाधाउँदै केही समय अगाडि २५ दिन जति उद्योग नै बन्द भयो,’ उनले भने।
भविष्यको योजना
पछिल्लो समय सवारीसाधनको माग बढेसँगै नयाँ नयाँ टेक्नोलोजीको पनि विकास हुँदै गएको छ। लेड एसिड ब्याट्री मात्र उत्पादन गर्दै आएको कम्पनीले भविष्यमा बजार मागअनुसाको ब्याट्री उत्पादन गर्ने योजना बनाएकाे छ।
एसटिसी इनर्जीमा अहिले कम्पनीले पूर्ण उत्पादन गर्ने हो भने यही प्लान्टबाटै मागअनुसार पुग्ने उप्रेतीले बताए। ‘पूर्ण रुपमा उत्पादन गर्ने हो भने हामीले बिक्री गर्ने नेपालकाे बजारलाई पुग्छ। अहिले ब्याट्रीमा लेड एसिडबाहेक अरु पनि टेक्नोलोजी आएको छ। त्यसमा जाने/नजाने हामी अध्ययनकै क्रममा छौं। हाम्रा धेरै योजना छन्, यो मात्र उत्पादन गर्दैनौं चरणबद्ध रूपमा योभन्दा राम्रो टेक्नोलोजी र मार्केटको डिमान्डअनुसार बनाउन तयार छौं,’ प्रबन्ध निर्देशक उप्रेतीले भने।
एक वर्षभित्र विद्युतीय स्कुटर तथा बाइकका लागि ब्याट्री उत्पादन गर्ने र बजारको मागअनुसार बनाउँदै जाने योजना रहेको तर्क उप्रेतीले गरे।
स्वदेशी मागलाई पूरा गर्दै निकट भविष्यमा भारतलगायत देशमा समेत निर्यात गर्ने गरी कम्पनीले गुणस्तरमा विशेष जोड दिएको छ। बजार माग र प्रविधिमा आएको परिवर्तनसँगै परिमार्जित हुँदै जाने तयारीमा रहेको एससिटी इनर्जीले निकट भविष्यमा लिथियम आयोन ब्याट्रीसमेत उत्पादन गर्ने योजना बनाएको छ।

