चीन। नेपालसहित विभिन्न देशमा बिक्री हुँदै आएको विद्युतीय सवारीसाधन सेरेस ३ को उत्पादन चीनमा बन्द गरिएको छ। ब्याट्रीमा बारम्बार समस्या देखिएपछि उपभोक्ता र बजारबाट आलोचना बढ्दै गएपछि कम्पनीले उत्पादन स्थगित गरेको हो।
सस्तो मूल्यमा उपलब्ध ईभी एसयूभीको रुपमा बजारमा उदीयमान बनेको सेरेस ३ को उत्पादन बन्दसँगै विश्व ईभी बजारमा चेतावनी सन्देश प्रवाह भएको छ। साथै, यसले सेरेस ३ पहिले नै खरिद गरिसकेका उपभोक्तालाई बिक्रीपछिको सेवा, मर्मत तथा स्पेयर पाट्र्ससम्बन्धी विषयमा अन्योल निम्त्याएको छ।
हालसम्म कम्पनीले सेरेस ३ बाहेकका अन्य मोडल उत्पादन गर्ने/नगर्ने विषयमा स्पष्ट जानकारी दिएको छैन।
नेपालमा अझै बेचिँदै सेरेस ३
नेपालमा सेरेस ३ को बिक्री तथा वितरण एमएडब्लू वृद्धि अटोमोबाइलमार्फत हुँदै आएको छ। कम्पनीका अनुसार हालसम्म ३०० बढी सेरेस ३ गाडी बिक्री भइसकेका छन्। थुप्रै गाडी अझै स्टकमा छन्।
तर, उत्पादन बन्द भएपछि ती गाडी कसरी बिक्री गर्ने तथा बिक्री भइसकेका गाडीको मर्मत, वारेन्टी सेवा तथा अन्य सहुलियत सुविधा कस्तो हुनेछ भन्नेबारे कुनै आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।
एमएडब्लू वृद्धिका सीईओ प्रशन्न पन्तले भने चीनमा सेरेस ३ को उत्पादन अझै बन्द नभएको दाबी गरेका छन्। ‘हामी अहिले पनि सेरेस ३ गाडी आयात गरिरहेका छौं। यसको उत्पादन बन्द भएको छैन,’ उनले भने।
चीनमा किन बन्द भयो सेरेस ३?
डोङफेङ मोटर कर्पोरेसन र सेरेसबीचको सहकार्यमा उत्पादित सेरेस ३ ले प्रारम्भमा सस्तो, साधारण र पहिलोपटक ईभी किन्ने ग्राहक लक्षित एसयूभीका रुपमा बजारमा ध्यान खिचेको थियो। तर, बजारमा आएको केही समयमै यसले विभिन्न चुनौती भोग्नुपर्यो।
ग्राहक प्रतिक्रिया, समीक्षा तथा परीक्षण रिपोर्टमा यसमा गुणस्तर, निर्माण असमानता, कमजोर प्रदर्शन, सफ्टवेयर समस्या र समग्रमा विश्वासनीयताको कमीजस्ता समस्या देखिएका थिए।
जब बजारमा विश्वविख्यात कम्पनीले गुणस्तरीय ईभी ल्याए, सेरेस ३ को कमजोरी झनै प्रस्ट हुन थाल्यो। यिनै समस्याका कारण कम्पनीले अन्ततः सेरेस ३ को उत्पादन बन्दको निर्णय गरेको हो।
हुवावे र एआईटीओको नयाँ रणनीति
अब कम्पनी हुवावेसँग सहकार्य गर्दै नयाँ एआईटीओ ब्रान्डमार्फत केवल प्रिमियम स्तरका ईभी उत्पादन गर्ने रणनीतिमा अघि बढेको छ। यसैअनुसार सेरेस अटोको आधिकारिक फेसबुक पेजको नाम पनि २०२४ अक्टोबरदेखि एआईटीओमा परिवर्तन गरिएको छ।
चिनियाँ सरकारी स्वामित्वको डोङफेङ ग्रुपले देशका विभिन्न स्टार्टअपसँग मिलेर अटो क्षेत्रमा नयाँ अनुसन्धान तथा लगानी गर्दै आएको छ। तर, आईटी कम्पनी हुवावेले प्रविधि उन्नत एआईटीओ आर्टिफिसियल इन्टेलिजेन्स या थिङ्गस गाडी बनाएपछि अमेरिकाले डेटा सुरक्षाको चिन्ता उठाउँदै प्रतिबन्ध लगाएको थियो।
त्यसपछि हुवावेले सेरेस कम्पनी नै खरिद गर्यो र सेरेस ५ र सेरेस ९ नामका गाडी उत्पादन गर्न थाल्यो। सेरेस ३ भने अझै डोङफेङद्वारा उत्पादन भइरहेकाले केही समय त्यसलाई पनि हुवावेले सम्हाल्यो। तर, गुणस्तर समस्याले निरास भएर हुवावेले डोङफेङसँगको सहकार्य तोड्यो र सेरेस कम्पनीको पूर्ण स्वामित्व लिएपछि सेरेस ३ को भविष्य अन्योलमा पारेको हो।
हाल सेरेस ३ गाडीबाट लोगो हटाएर विभिन्न मुलुकमा बेच्ने तयारी भइरहेको छ। सेरेस ब्रान्ड अब एआईटीओमा गाभिएको छ भने उत्पादन भइसकेका सेरेस ३ गाडी पुनः डोङफेङमा फर्काइएका छन्।
तर, ती गाडी अब कुन नामबाट बेचिने भन्ने विषयमा निर्णय भइसकेको छैन। नेपालमा अहिले पनि डोङफेङ ब्रान्डअन्तर्गत नामी, फोरथिङलगायत गाडी आइरहेका छन्।