दाङ। दाङको तुलसीपुर उपमहानगर–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथाने बाली संरक्षण गर्न बिउ बैंक स्थापना गरेको छ। लोप भइसकेका बालीलाई संरक्षण गर्न बिउ बैंक स्थापना गरिएको हो।
संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ संकलन सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिए। अहिले ५० बढी बालीको बिउ संकलन गरिएको उनले उल्लेख गरे।
‘हामीले ५० बढी लोेप हुने अवस्थामा रहेका बाली संकलन गरेका छौं। ती बालीको बिउ संकलन गरेर बैंक बनाएका छौं’, उनले भने, ‘संकलित बिउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौं।’
कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ। अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बिउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगर कृषि शाखा प्रमुख कुलराज चौधरीले बताए।
‘परम्परागत बाली धेरै लोप भइसकेका छन्। यसरी बिउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो’, उनले भने। यो कार्य सबै कृषि सहकारीले गर्नुपर्नेमा उनले जोड दिए।–रासस